आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इन्धनमा कोटा तोक्न र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

इन्धनमा कोटा तोक्न र सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सरकारलाई सुझाव दिएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न सरकारलाई सुझाव दिएको छ। निगमले सोमबार प्रधानमन्त्री, उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयलाई पेट्रोलियम पदार्थको खपत घटाउनका लागि बिक्रीमा कोटा तोक्न सुझाएको हो।

National life

निगमले मोटरसाइकल र स्कुटरलाई एक पटकमा पाँच लिटर र कार, जिपलगायत साना सवारीसाधनलाई २० लिटरमात्रै इन्धन दिन प्रस्ताव गरेको छ। इन्धन खपत घटाउन के गर्न सकिन्छ भनेर सरकारले सुझाव मागेपछि निगमले यस्तो प्रस्ताव गरेको हो।

यसअघि निगमले इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको थियो। सरकारले प्रस्ताव कार्यान्वयन पनि गर्यो, तर त्यो एक महिना पनि टिकेन।

निगमले इन्धन खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली कार्यान्वयनमा ल्याउन पनि सुझाव दिएको छ। सार्वजनिक तथा अत्यावश्यक सेवाका बाहेक सरकारी र निजी सवारीसाधनमा जोरबिजोर प्रणाली कार्यान्वयन गर्न निगमको सुझाव छ।

निगमले विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरुमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्न तथा सार्वजनिक एवं निजी पार्किङ स्थानमा विद्युतीय सवारीसाधन निःशुल्क पार्किङको व्यवस्था गर्न पनि सुझाएको छ। निगमले छोटो दुरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न पनि आह्वान गरेको छ।

Shivam cement

निगमले सबै सवारीसाधनमा उपलब्ध सिटअनुसार यात्रु राखेर चलाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ। कुनै पनि सवारीसाधन खाली हिँड्न निरुत्साहित गर्नुपर्ने निगमको भनाइ छ।

निगमले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन र अन्य उपकरण आयातमा प्रतिवन्ध लगाउन पनि सुझाव दिएको छ। खाना पकाउने ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्न र घरायसी प्रयोजनको बिजुलीको शुल्क कम गर्न पनि सुझाइएको छ।

प्रकाशित: Jul 04, 2022| 17:50 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्