सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी प्रदेशभर बैंकमा पैसा राख्ने नागरिकमा रुकुम पूर्व पुछारमा, रूपन्देही पहिलो

Siddartha premir insuranceSiddartha premir insurance

लुम्बिनी प्रदेशभर बैंकमा पैसा राख्ने नागरिकमा रुकुम पूर्व पुछारमा, रूपन्देही पहिलो

बुटवल, भैरहवालगायतमा औद्योगिक क्षेत्र हुनु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र उद्योग, व्यवसाय विस्तार भएकाले रूपन्देहीका नागरिकको आम्दानी बढ्दो छ।
 |  सोमबार, असार २०, २०७९
nespernesper

रासस

रासस

सोमबार, असार २०, २०७९

काठमाडौं– आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्ला रुकुम पूर्वका नागरिकले बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने गरेको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको लुम्बिनी प्रदेशको चालू आर्थिक वर्षको आर्थिक विवरणमा उल्लेख छ। रुकुम पूर्वका नागरिकको बैंक खातामा कुल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको हो।

triton college

राष्ट्र बैंकको विवरणअनुसार रुकुम पूर्वका नागरिकले ९३ करोड ७३ लाख बराबरको रकम मात्रै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रूपमा राखेका छन्। राष्ट्र बैंकले सात वटै प्रदेशको आर्थिक अवस्थाबारे नियमित विवरण सार्वजनिक गर्दै आएको छ। सोही क्रममा पछिल्लो पटक लुम्बिनी प्रदेशको विवरण प्रकाशित गरेको छ।

राष्ट्र बैंकका अनुसार लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गरेको कुल निक्षेप गत वर्षको तुलनामा न्यून मात्रै वृद्धि भएको छ। कुल ४ खर्ब २ अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप लुम्बिनी प्रदेशभित्र रहेको पाइएको छ। २०७८ असारको तुलनामा ९ प्रतिशतले निक्षेप बढेको छ।

लुम्बिनी प्रदेशमा रूपन्देहीको हिस्सा सबैभन्दा बढी रहेको छ। केन्द्रीय बैंकको विवरणअनुसार कुल ४४.४८ प्रतिशत बराबरको हिस्सा रूपन्देहीको छ। बुटवल, भैरहवालगायतमा औद्योगिक क्षेत्र हुनु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमेत सञ्चालनमा आउनु र उद्योग व्यवसाय विस्तार भएकाले रूपन्देहीका नागरिकको आम्दानी बढ्दो छ।

सोही कारणले यो जिल्लाका नागरिकले बैंक तथा वित्तीय संस्थामा बढी मात्रामा निक्षेप जम्मा गरेका छन्। विवरणअनुसार रूपन्देहीका नागरिकले १ खर्ब ७९ अर्ब १८ करोड ७ लाख ८० हजार बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन्। बाँकेको १२.२७ प्रतिशत बराबरको हिस्सा रहेको छ, जुन कुल ४९ अर्ब ४१ करोड ४५ लाख २० हजार बराबर हो।

Metro Mart
vianet

दाङ आर्थिक रूपमा विकासको गतिमा अगाडि बढे पनि त्यहाँका नागरिकले बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप भने कमै देखिएको छ। केन्द्रीय बैंकको विवरणअनुसार दाङको हिस्सा  १०.८१ प्रतिशत बराबर छ, जुन कुल ४३ अर्ब ५३ करोड ११ लाख ८० हजार बराबर छ।

विवरणअनुसार कपिलवस्तुको हिस्सा ६.३२ प्रतिशत छ। कपिलवस्तुका नागरिकले २५ अर्ब ४४ करोड ३० लाख ४० हजार बराबरको निक्षेप बैंक तथा वित्तीय संस्थामा राखेका छन्। लुम्बिनी प्रदेशको पाल्पाको हिस्सा ५.७३ प्रतिशत मात्रै छ, जुन कुल २३ अर्ब आठ करोड ९१ लाख ५० हजार बराबरको रहेको छ।

नवलपरासी पश्चिमको हिस्सा ५.५० प्रतिशत अर्थात् २२ अर्ब १३ करोड ८० लाख ४० हजार बराबरको रकम निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन्।यसैगरी गुल्मीको हिस्सा ५.२९ प्रतिशत रहेको छ । गुल्मीका नागरिकले बैंक तथा वित्तीय संस्थामा २१ अर्ब ३० करोड ७९ लाख १० हजार बराबरको रकम निक्षेपका रूपमा राखेका छन्।

कम निक्षेप राख्ने जिल्लामा क्रमशः अर्घाखाँची, बर्दिया, प्यूठान र रोल्पा रहेको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ। अर्घाखाँचीको हिस्सा १२ अर्ब ५४ करोड ८६ लाख ३० हजार अर्थात् ३.१२ प्रतिशत बराबरको निक्षेप राखेका छन्। बर्दियाको १२ अर्ब ८७ करोड ७४ लाख ७९ हजार अर्थात् ३.२० प्रतिशत बराबर रकम मात्रै निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका छन्।

प्यूठानको ७ अर्ब ७६ करोड ६६ लाख ३० हजार अर्थात् १.९३ प्रतिशत, रोल्पाको ४ अर्ब ६० करोड ५६ लाख ७० हजार अर्थात् १.१४ प्रतिशत बराबरको रकम मात्रै त्यहाँका नागरिकले निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा राखेका छन्।

ऋण लिनेमा पनि रूपन्देहीका नागरिक नै अग्र स्थानमा छन्। सो जिल्लाका नागरिकले  प्रदेशको कुल १२ जिल्लामध्ये सबैभन्दा बढी ऋण लिएको पाइएको छ। केन्द्रीय बैंकको अध्ययनअनुसार सो जिल्लामा मात्रै ५०.१० प्रतिशत बराबरको ऋण लगानी भएको छ। रूपन्देहीमा २ खर्ब ६९ अर्ब १४ करोड १२ लाख १० हजार बराबरको ऋण लगानी भएको छ।

दाङमा ६४ अर्ब २१ करोड ७९ लाख ७० हजार, बाँकेमा ८९ अर्ब ८२ करोड ३ लाख ७० हजार, बर्दियामा १६ अर्ब ४६ करोड ४३ लाख ३० हजार बराबरको ऋण लगानी भएको छ। 

निक्षेपसमेत कम रहेको रुकुम पूर्वमा बैैंक तथा वित्तीय संस्थाको लगानी ६८ करोड ९० लाख ७ हजार बराबर रहेको छ । प्रदेशगत रूपमा हेर्दा बैंक तथा वित्तीय संस्थाले ०.१३ प्रतिशत बराबरको रकम मात्रै ऋणका रुपमा लगानी गरेको पाइएको छ।

प्रदेशभर ४ खर्ब २ अर्ब ८३ करोड ७६ लाख बराबरको निक्षेप उठाएका बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ३७ अर्ब १९ करोड १४ लाख ९० हजार बराबरको ऋण लगानी गरेका छन्।

प्रकाशित: Jul 04, 2022| 15:47 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्