काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफू नै राज्य भएको भन्ने दम्भ देखाएको आरोप लगाएका छन्। प्रतिनिधि सभामा भएको छलफलमा भाग लिँदै ओलीले आफ्नो दललाई वेवास्ता गरेको उल्लेख गर्दै यस्तो आरोप लगाएका हुन्।
बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको घुसपैठ भएको विषय समाचारमा आएपछि एमालेले बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको थियो। तर अर्थमन्त्री शर्माले फुटेज माग्ने को हो एमाले भन्दै प्रतिप्रश्न गरेका थिए। यसै विषयमा ओलीले जनार्दनमाथि आक्रोश व्यक्त गरेका हुन्।
'एमाले को हो? कसले फुटेज माग्ने? माग्दैमा दिनुपर्छ भन्ने के छ? 'आई एम द स्टेट (म नै राज्य हुँ)' भनेर हिँडिरहेका छन्,' ओलीले भने, 'संसदको प्रमुख दल, प्रमुख प्रतिपक्ष, हिजोसम्म सरकारमा भएको पार्टी अनेकथरी मिलेर पनि उखेल्न नसकेर, अदालतमा मुद्दा हालेर हटाइयो। र, प्रमुखप्रतिक्षले फुटेज देखाऊ भनिरहेको छ, अनि जवाफ आउँछ को हो एमाले?'
एमालेलाई अर्थमन्त्रीले दिएको जवाफ संसदीय नैतिकता र आचारणसँग मेल खाने प्रकृतिको नभएको उनको भनाइ छ।