काठमाडौं- देशभर एकीकृत रुपमा शुक्रबारदेखि बजार अनुगमन सुरु भएको छ। अनुगमनले कृत्रिम मूल्यवृद्धि उपत्यकाभन्दा बाहिर धेरै रहेको देखिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, विभाग अन्तर्गतका कार्यालय, स्थानीय तह, जिल्ला प्रशासन कार्यालयको समन्वयमा बजार अनुगमन सुरु भएको हो।
अस्वाभाविक मूल्य वृद्धि गर्ने क्रम उपत्यकाबाहिर देखिएको विभागले संकलन गरेको एकीकृत तथ्याङ्कले देखाएको छ। विभागले उपत्यकामा गरेको २५ वटा फर्मको अनुगमनमा ९ वटामा कैफियत देखिएको थियो। त्यसमा होटल, डेरी, ड्राइफुड, खाद्यान्न , खाने तेलजस्ता वस्तुमा कैफियत देखिएको हो।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रदेश १ ले गरेको २० ठाउँमा गरेको अनुगमनमा २० वटैमा कैफियत देखिएको छ। जसलाई जरिवाना गरिनुका साथै र स्पष्टीकरण सोधिएको छ।
मधेश प्रदेशले गरेको १३ वटा फर्ममध्ये ११ वटामा कैफियत देखिएको छ। लत्ताकपडा, हार्डवेयर र खाद्यान्नमा अनुगमन गरिएको लुम्बिनीले जनाएको छ।
लुम्बिनी प्रदेश कार्यालयले गरेको १३ वटा फर्मको अनुगमनमा ८ वटामा अस्वाभाविक मूल्यवृद्धि देखिएका छ। जसमा खाद्यान्न, डेरी र हार्डवेयर छन्।
नेपालगञ्मा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले गरेको अनुगमन गरेको ८ वटा फर्ममध्ये ५ वटामा कैफियत देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा ५ मध्ये एउटामा कृत्रिम मूल्यवृद्धि देखिएको छ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरेको अनुगमनको विवरण आउन बाँकी रहेको विभागले जनाएको छ। विभागका महानिर्देशक लीला शर्माले शनिबार आयोजित कार्यक्रममा अनुगमन तीव्र रुपले बढाउने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुको निर्देशन अनुसार काम भइरहेको बताए।