आइतबार, असार ७, २०८३

एक महिनामा पौने दुई अर्बको बिजुली बेच्यो नेपालले

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ।
 |  शुक्रबार, असार १७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १७, २०७९

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिष्पर्धी दरमा खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आईएक्समा बिक्री सुरु गरेको थियो। 

National life

सुरुमा दुई वटा विद्युत गृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो। त्यसपछि २७ जेठबाट दैनिक रुपमा ३६४ मेगावाट विद्युत भारतीय बजारमा प्रतिष्पर्धी दरमा बिक्री हुँदै आएको छ। 

नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न स्वीकृति पाएको छ। जुन महिनामा १७ करोड ८१ लाख ९१ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरिएको छ। प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरु कटाएर खुद १ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कमाएको छ। जुन महिनामा प्रतिश्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत प्रति युनिट दर ९ रुपैयाँ ६७ पैसा छ। 

आईएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले यस अवधिमा विद्युत बिक्रीको औसत दर सबैभन्दा बढी १५ जुन (१ असार) मा पाएको छ। त्यस दिनको प्रतियुनिट औसत दर १५ रुपैयाँ ९३ पैसा थियो। सबैभन्दा कम औसत दर २१ जुन (७ असार)मा थियो। त्यसदिन औसत दर प्रतियुनिट ४ रुपैयाँ ९२ पैसा थियो। 

यस अवधिमा ३ जुन (२० जेठ)मा  सबैभन्दा कम ५६ लाख ६७ हजार रुपैयाँको विद्युत बिक्री गरिएको छ।त्यस दिन ९ लाख ४ हजार ८ सय युनिट विद्युत बिक्री गरिएको थियो। सबैभन्दा बढी १४ जुन (३१ जेठ) ७ करोड २८ लाख रुपैयाँको विद्युत बिक्री भएको छ। त्यस दिन ७८ लाख १३ हजार ३ सय युनिट विद्युत बिक्री गरिएको थियो। 

Shivam cement

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालले गत वर्षबाट सुरु गरिएको भारतीय प्रतिश्पर्धी बजारमा विद्युत व्यापार यस वर्षबाट थप प्रभावकारी रुपमा अगाडि बढेको बताए। ‘जुन महिनामा निर्यात गरिएको विद्युतको परिमाण र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रुपमा अगाडि बढेको छ, विदेशी मुद्रा सञ्चितिको चाप परिरहेको हालको अवस्थामा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत बिक्री गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएका छौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘यसबाट नेपालको भारतसँगको व्यापार घाटालाई केही कम गर्न र देशको सोधानान्तर बचतमासमेत योगदान पुग्ने छ।’

उनले चालू आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत निर्यातको प्रक्षेपण गरिएको बताए। भारतसँगको विद्युत व्यापारले नेपालको जलविद्युतको विकासमा ठूलो सहयोग पुग्ने बताए। पहिलो प्राथमिकता देशभित्रै विद्युत खपत गर्ने र त्यसका लागि प्रसारण र वितरण प्रणालीका पूर्वाधार संरचनामा राज्यले अझै लगानी बढाउनु पर्ने देखिएको घिसिङले बताए। 

‘मुख्य रुपमा औद्योगिक ग्राहकबाट भोल्टेजको कारणले छिनछिनमा लाइन ट्रिपिङ हुँदा भरपर्दो र गुणस्तरीय विद्युत नपाएको गुनासो आउने गरेको छ, प्रायः वर्षायाममा हुने यस्ता समस्या समाधान गर्न देशभरी नै प्रसारण तथा वितरण प्रणाली संरचनाको सुधार, विस्तार र स्तरोन्नति अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा नतिजा अब विस्तारै देखिने छ,’ उनले भने।

गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो। त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो। 

कार्यकारी निर्देशक घिसिङले दुई मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए। भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिष्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ। 

प्राधिकरणको तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ। एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ।  



प्रकाशित: Jul 01, 2022| 12:47 शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्