सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ४० प्रतिशत मात्रै

आर्थिक वर्ष सकिनै लाग्दा पुँजीगत खर्च ४० प्रतिशत मात्रै

सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्चिने लक्ष्य राखे पनि असार १६ सम्म १ खर्ब ५१ अर्ब ९ करोड ४ लाख मात्रै खर्च भएको छ।
 |  बिहीबार, असार १६, २०७९

रासस

रासस

बिहीबार, असार १६, २०७९

काठमाडौं– चालू आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ। सरकारले चालू आवमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो। हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो। तर अवस्था भने त्यस्तो छैन ।

National life

सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कुल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ। कार्यालयका अनुसार कुल १ खर्ब ५१ अर्ब ९ करोड ४ लाख मात्रै खर्च भएको छ। यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो। 

सरकारको कुल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ। कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म ११ खर्ब ९ अर्ब ३७ करोड ३२ लाख बराबर खर्च भएको छ, जुन कुल विनियोजनको ६७.९४ प्रतिशत हो।

सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालूमा देखिएको छ। १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको चालू खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म ८ खर्ब ६६ अर्ब ९० करोड ६० लाख अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ।

त्यस्तै, वित्तीय व्यवस्थातर्फ कुल १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ९१ अर्ब ३७ करोड ६८ लाख अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ।

Laxmi sunrise bank
kumari

सरकारले नियमित रूपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ। सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ।

यो भयो, खर्चको कुरा। अब सरकारको आम्दानी नियालौं। 

कार्यालयका अनुसार असार १५ गतेसम्म कुल ९ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख बराबर राजस्व संकलन गरेको छ, जुन कुल लक्ष्यको ८२.२ प्रतिशत हो। सरकारले ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य चालू आवका लागि राखेको थियो। त्यसमा कर राजस्वतर्फ ८ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख संकलन भएको छ, जुन कुल लक्ष्यको ८४.१९ प्रतिशत हो।

चालू आवका कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख लक्ष्य राखेको थियो। यस्तै, अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख अर्थात् २३.१७ प्रतिशत प्राप्त गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दा चालू आवमा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए।

कुल सरकारी खर्चमध्ये चालू खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो। 

कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक छ। चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो।

चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ। चालू आर्थिक वर्षमा २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ।

प्रकाशित: Jun 30, 2022| 16:39 बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्