काठमाडौं- अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माण प्रक्रिया जारी रहेका बेला अर्थ मन्त्रालयमा मन्त्री शर्मा र गभर्नर अधिकारीबीच बुधबार सिंहदरवारमा छलफल भएको हो।
छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल पनि सहभागी थिए। मन्त्रालय स्रोतका अनुसार छलफल मौद्रिक नीतिका विषयमा केन्द्रित थियो।
अर्थमन्त्री शर्माले सेयरबजारको समस्या सम्बोधन गर्न आग्रह गरेका थिए। गभर्नर अधिकारीले अर्थमन्त्री शर्मालाई कसिलो नीति नै उपयुक्त हुने जवाफ दिएका थिए। योजना आयोगका उपाध्यक्ष पौडेलले बजेटरी कार्यक्रमलाई सहयोग पुग्ने मौद्रिक नीति आवश्यक रहेको बताए।
चालू आवको मौद्रिक नीतिका विषयमा अर्थमन्त्री र गभर्नर अधिकारीबीच विवाद छ। गभर्नर अधिकारीमाथि निलम्बन गर्न मन्त्री शर्माले छानबिन समिति गठन गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए। तर अदालतले उक्त निर्णय कार्यनन्वयन नगर्न आदेश दिएपछि गभर्नर अधिकारीले जिम्मेवारीमा फर्किएका हुन्।