आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनबी गाभ्न नबिल बैंकलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार असार अन्तिम सातादेखि

एनबी गाभ्न नबिल बैंकलाई अन्तिम स्वीकृति, एकीकृत कारोबार असार अन्तिम सातादेखि

कर्मचारीको तहगत मिलानमा समस्या देखिँदा केही समय नबिलले एनबीलाई गाभ्ने प्रक्रिया रोकिए पनि राष्ट्र बैंकले दुवै बैंक सञ्चालक समितिलाई मनाएपछि एनबीलाई नबिलमा गाभ्न अन्तिम स्वीकृति दिइएको हो।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई गाभ्न अन्तिम स्वीकृति पाएको छ। बुधबार राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नबिललाई एनबी बैंक गाभ्न अन्तिम स्वीकृति दिएको हो। राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको पत्र पाउनासाथ नबिलले एनबीलाई गाभेर एकीकृत कारोबार सुरु गर्नेछ। 

कर्मचारीको तहगत मिलानमा समस्या देखिँदा केही समय नबिलले एनबीलाई गाभ्ने प्रक्रिया रोकिएको थियो। तर राष्ट्र बैंकले समस्या समाधानका लागि नबिलको सञ्चालक समितिलाई निर्देशन दिएपछि बुधबार एनबीलाई नबिलले गाभ्नेसम्बन्धी अन्तिम स्वीकृति दिएको हो। 

गभर्नर महाप्रसाद अधिकारीले दुवै बैंकका कर्मचारीको समस्या छलफल गरेर समाधान गरेर आउन अघिल्लो साता निर्देशन दिएर एउटा कार्यक्रममा भाग लिन विदेश गएका थिए।

गभर्नर अधिकारी नेपाल फर्किएसँगै सहमति भएको बैंकले जनाएपछि बुधबारको बैठकले अन्तिम स्वीकृति दिने निर्णय गरेको हो। नबिल बैंकले असार अन्तिम सातादेखि नै एकीकृत कारोबार गर्ने गरी सबै काम अगाडि बढाएको छ। 

राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबारका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा अनुमति लिनुपर्छ।

एनबी बैंकको १०० सेयर बराबर नबिलको ४३ कित्ता सेयर हुने गरी सेयर स्वाप रेसियो मिलाइएको छ। त्यस्तै, यही सातादेखि नबिल बैंकको सीईओको जिम्मेवारी ज्ञानेन्द्र ढुंगानाले सम्हाल्नेछन्। 

नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृतमा एनबीका निवर्तमान सीईओ ज्ञानेन्द्र ढुंगाना हुनेछन्। नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, निक्षेप २ खर्ब २१ अर्ब र कर्जा ३ खर्ब ७ अर्ब हुनेछ। 


प्रकाशित: Jun 29, 2022| 15:22 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्