आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भाइरल छिरेर तहसनहसको बाटोमा लोकगीत

भाइरल भएका मान्छेलाई च्याप्प समाएर रेकर्डिङ स्टुडियो भित्र धकेलेर गीत गाउन लगाउनु सर्जकको बाध्यता पक्कै होइन। न लोक गायनमा सक्रिय कलाकारको अभाव नै हो। त्यसो भए लोक गीतको सामान्य ज्ञान पनि नभएका पात्रहरुलाई भाइरल भएकै नाममा जबर्जस्ती गीत गाउन लगाउनुको कारण के ?
 |  बुधबार, असार १५, २०७९
nespernesper

राज सरगम

राज सरगम

बुधबार, असार १५, २०७९

काठमाडौं- हे है है है! दुवै हात फैलाएर कराउँदै नाच्‍न थालेका भेलु बाजे अर्थात् मीनबहादुर बुढा गीत गाउन स्टुडियोभित्र छन्। आँखामा कालो चस्मा, शीरमा हेडफोनसहित स्टेन्ड माइकको अगाडि उभिएका उनलाई गाउनभन्दा पनि नाच्‍न हतार छ। अनि छेउमै रहेका संगीतकार बीबी अनुरागी उनलाई रोक्दै भनिरहेका छन्, ‘मिलाउँदै छौं नहतारिनुस्। गाउनु अगाडि केही भन्‍नु छ भने भन्‍नुस् है।’ 

triton college

‘हामी यहाँ कलाकारको हलमा आछम्। रेकर्डिङको स्थितिले हामी आछम् यहाँ। दोहोरी गीत जितौंला भनेर हामी आम...’ भेलु बाजे आफ्नै शैलीमा बोल्न थालेपछि संगीतकार उनलाई पुरानो प्युठानी ठाडी भाका गाउन लगाउँछन्।

हाऽ बरै..

काटे डाली कैन, मरम भने हे कालै आएन....। 

उनले गीत गाउँदै गरेको यो भिडियो साझा टेलिभिजन युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। जहाँ भेलु बाजे, बीबी अनुरागी र वाद्यवादकहरूको यस्तो दृश्य देखिन्छ। ठाडी भाका गाउँदा-गाउँदै भेलु बाजे गहिरो सोचमा पर्छन्। अनि सासैले बोल्छन्, ‘हत्तेरिका माटोक्ने आँदै आदैन यार।’ 

Metro Mart
vianet

रेकर्डिङ स्टुडियोमा भएका वाद्यवादकको खित्का छुट्छ। बीबी अनुरागी सम्झी-सम्झी गाउन अनुरोध गर्छन् उनलाई। 

‘काटेर डाली कैन...’, गाउँदा-गाउँदै फेरि रोकिन्छन् भेलु बाजे। नमज्जाले अड्किन्छन्। 

‘हिँदेखि त गीत गाउन सक्दिन हजुर...’ ६४ वर्षीय भेलु बाजे आफ्नै टोनमा हरेश पोख्छन्। पुरानो भएँ, बुढो भएँ भन्दै आफूलाई सम्हाल्छन्। तर, उनको कामलाई स्याबासी दिँदै साझा टेलिभिजनले भेलु बाजेलाई स्टुडियोभित्रै नचाउँछ। अनि उनी पनि अर्कै गीत गाउँदै खुलेर नाच्छन्।    

जीवनको यो उत्तरार्धमा यसरी स्टुडियोमा गीत गाउँला भनेर भेलु बाजेले सायदै सोचेका थिए। न त गायन उनको क्षमता नै थियो। तर गाउँ-गाउँ र घर-घरभित्र घुस्दै क्यामेरा तेर्स्याउने युट्युबरहरुको जमानामा गायक बन्‍नलाई संगीतको ज्ञान नै किन चाहियो र! बस्, ‘भाइरल’ भइदिए पुग्यो।  

प्युठानका भेलु बाजे त्यस्तै एक पात्र भए, जसको हाउभाउ र मौलिक बोलीचाली नै भाइरल हुने योग्यता बनिदियो। अनि यस्तै भाइरल पात्र खोज्दै हिँड्ने जमातले उनलाई लोकगीत गाउन लगाइदियो। ‘मनकामना रोधी घर नेपाल’ले यतिबेला भेलु बाजेलाई लोकदोहोरी गायिका राधिका हमालसँग गाउने अवसर दिएको छ, जहाँ उनले गीत गाउँदा पटक-पटक बिगारेका छन्। 

मानौं, गाउँघरमा धेरै प्युठाने ठाडी भाका गाए होलान्, उनले। घाँस दाउरा गर्दा, वनपाखा जाँदा, मनमा विरह चल्दा र साथीभाइका बीचमा रमाइलो गर्दा पक्कै गीत गाए होलान्। तर, गायक बन्‍न गाह्रो रहेछ भन्ने कुरा सायद उनले पनि स्टुडियो छिरेपछि थाहा पाए। नत्र भेलु बाजेले गीत गाउँदा-गाउँदै सक्दिनँ भन्थेनन्। पसिना नै आयो भन्थेनन्। तर, उनलाई गाउन लगाउँदा भ्युज आउँछ भन्‍ने जमातले उनलाई 'गायक' बनाएरै छाड्यो।

भाइरल भएका मान्छेलाई च्याप्प समाएर रेकर्डिङ स्टुडियोभित्र धकेलेर गीत गाउन लगाउनु सर्जकको बाध्यता पक्कै होइन। न लोक गायनमा सक्रिय कलाकारको अभाव नै हो। त्यसो भए लोक गीतको सामान्य ज्ञान पनि नभएका पात्रहरुलाई भाइरल भएकै नाममा जबर्जस्ती गीत गाउन लगाउनुको कारण के ?

युट्युबमा राखिएको उक्त गीतको शीर्षक छ, ‘भेलु बाजेको आयो गीत प्युठाने ठाडी भाका, ‘काटे डाली कैन।’ 

यतिमात्रै होइन, ‘ए पख्नुस् त, हत्तेरिका मा'टोक्ने’ जस्ता शब्द बोलेर भाइरल बनेका भेलु बाजेको यही लाइनलाई पक्रेर ‘असिम रिभ्यु’ नामको युट्युब च्यानलले पनि भिडियो हालेको छ, जसको शीर्षक छ, ‘ए पख्नुस् त भेलु बाजे फुल डिजे सङ।’

त्यसो त भाइरल भएका मान्छेलाई च्याप्प समाएर रेकर्डिङ स्टुडियोभित्र धकेलेर गीत गाउन लगाउनु सर्जकको बाध्यता पक्कै होइन। न लोक गायनमा सक्रिय कलाकारको अभाव नै हो। त्यसो भए लोक गीतको सामान्य ज्ञान पनि नभएका पात्रहरुलाई भाइरल भएकै नाममा जबर्जस्ती गीत गाउन लगाउनुको कारण के ?

जवाफ सहज छ, ‘सस्तो लोकप्रियता र अत्यधिक युट्युब भ्युज।’

दुई वर्ष अगाडि भेलु बाजे आफ्नै गृह जिल्ला प्युठानमा थिए। उनी बिहेमा नाचिरहेको एक दृष्यपछि टुक्रुक्क बसेर भोज खान थालेका थिए। स्थानीय केटाहरु भोज खान थालेका भेलु बाजेसँग जिस्किन्छन्। अनेक छाडा गफ गर्छन्। यही दृष्यलाई कसैले भिडियोमा कैद गरिदियो, त्यसपछि सामाजिक सञ्‍जालमा भाइरल भए उनी। 

यतिखेर उनलाई बीबी अनुरागीले मात्रै होइन, अन्य संगीतकर्मीले पनि लोकगीत गाउन लगाइरहेका छन्। अर्का गायक-संगीतकार भुवन बडु ‘बिरही’ ले पनि उनलाई गीत गाउन लगाएका छन्। भुवनले त उनलाई मात्रै होइन, उनीजस्ता अर्का भाइरल पात्र काले दाइ उर्फ ‘चाउमिन वाला’ (हिरा गुप्ता) लाई पनि गीत गाउन लगाएका छन्। 

हारमोनियम लिएर बीचमा बसेका भुवन बडुले आफ्नो दायाँबायाँ भेलु बाजे र काले दाइलाई राखेका छन्। सँगसँगै हास्‍ने र हँसाउने मात्रै गरेका छैनन्, गीत नै गाउन लगाएका छन्। अनि गीतको बोल छ, ‘भेलु बाजे आहा चाउमिन वाला...।’

अरुको निजी जीवनमा घुस्दै चरित्रहत्या गर्न खप्पिस युट्युबर भोजराज थापाको प्रस्तुति रहेको यो गीतलाई भेलु बाजे, काले दाइ (हिरा गुप्ता) र गायक संगीतकार भुवन बडुले स्वर दिएका छन्। केशव बडुको संगीत तथा जगत तिरुवा र भुवन बडुको शब्द रहेको गीत अहिले युट्युबमा राम्रै चलेको छ। भिडियोमा भेलु बाजे र काले दाइ दुवैले अभिनय गरेका छन्।

‘हिरा गुप्ता ट्राफिक चोक’ भन्दै परिचय दिँदै आएका काले दाइ ‘चाउमिन वाला’ ठेलामा कस्मेटिकका सामान बेच्छन्। २० वर्ष अगाडि फलफूल बेच्ने गरेको हिरा सिधा कुरालाई घुमाएर बोल्न माहिर छन्। दाङ घोराही ट्राफिक चोकमा उनको केही थान ठेला छन्। एकदिन ‘जन आवाज नेपाल टिभी’ युट्युब च्यानलका सञ्चालक सुदन थापाले सर्ट मुभी बनाउन कलाकार चाहिएको बेला हिरा गुप्ता सम्झिए। सर्ट फिल्म त बनाएनन् सुदनले, तर कुराकानीको सुरुवातमै सोधे, ‘एक करोड पाउनुभयो भने के गर्नुहुन्छ?’ 

जवाफमा उनले भने, ‘पहिला त एक हाफ चाउमिन खान्छु।’ 

जवाफ सुनेर सुदन खुब हाँसे। अनि त्यसलाई टिकटकमा हालिदिए। त्यसपछि रातारात भाइरल। एक निम्‍न वर्गका मानिसको पहिलो आवश्यकता नै गाँसबासको हो। हिराले पनि एक हाफ चाउमिन भनिदिएपछि निम्‍न वर्गको भावनालाई सायद यो जवाफले गहिरोसँग छोयो। त्यसपछि हिरा गुप्ता रातारात ‘चाउमिन वाला’ भनेर चिनिन थाले। 

मजाले हँसाउन सक्छन् उनी। कतिपय त उनको मधेशी टोनमा पनि हाँसेका होलान्। तर, मधेशबाट व्यापारका लागि दाङको घोराही पुगेका उनले सायदै सामाजिक सञ्‍जालमा भाइरल बन्छु भनेर यस्तो बोलेका थिए। तर यही कारण कहिल्यै गीत नगाएका उनी गायक भइदिए। 

कस्तो गायक?

सायद भनिरहन पर्दैन। ‘भेलु बाजे र चाउमिन वालाको पहिलो गीत रेकर्ड, रेकर्डिङमा हँसाएरै मुर्छा पारे, भेलुले फेरि थर्काए’ शीर्षकमा सेलेब नेपाल युट्युब च्यानलले अपलोड गरेको भिडियो हेरे पुग्छ। सामाजिक सञ्जालमा भाइरल भएकै कारण रोजगारी पाए पनि गीतसंगीत क्षेत्रमा स्थापित हुन लामै संघर्ष गर्नेको पनि कमी छैन यहाँ। भेलु बाजे र काले दाइ जस्तै भाइरल भएर गीतसंगीत क्षेत्रमा आइपुगेका थिए, बाल गायक सचिन परियार, जसको विचल्ली अहिले यट्युबरहरू फलाकिरहेका छन्।

०००

गल्मीकै मुसिकोट नगरपालिका-९ ददल्कामा जन्मिएका सचिन कक्षा दुई पढ्दा भाइरल हुन पुगेका थिए। आमाले दोस्रो विवाह गरेर गएपछि बाबा तेजेन्द्रले पनि अर्को विवाह गरे। त्यसपछि सचिन मामाघर बाग्लुङको गल्कोट बसेर कक्षा दुईमा पढ्न थाले। 

२०७७ सालको लकडाउनको सुरुवातमा स्कुल बन्द भएपछि तम्घास गएका थिए, सचिन। एकदिन उनी अर्घाखाँची पार्कमा खेलिरहेको बेला उनीसँग कुराकानी गरेर कसैले भिडियो टिकटिकमा हालिदियो। उनको हाउभाउ, गीत गाउने क्षमताले गर्दा धेरैले मन पराए उनलाई। त्यसपछि उनलाई पछ्याए युट्युबरले। ‘ब्लु स्काइ टीभी’ र ‘लेकसाइड’ नामका दुई युट्युब च्यानलले भिडियो बनाएर हालेपछि उनी भाइरल भइहाले।

अरु युट्युबरका आँखा पनि सचिनमा पर्‍यो। रातारात उनलाई कमेडियन गायक बनाइदियो। छोराको चर्चा एकाएक चुलिएपछि बुवा तेजेन्द्र हौसिएर पढिरहेको सचिनलाई काठमाडौं लिएर आए। लोकसंगीत कार्यक्रम इन्द्रेणीमा झुल्किएपछि सचिनले मनमात्रै जितेनन्, लोकसंगीत क्षेत्रमा संघर्ष गरेको कलाकारलाई नै उछिनिदिए। 

युट्युबरका लागि गतिलो विषय बनेका सचिनले पहिलोपटक ‘ओठ खोलेर’ बोलको गीतमा स्वर दिए। यसरी सचिनले थुप्रै गीतमा स्वर दिन पाए र भिडियोमा पनि अभिनय गर्न थाले। पढाइका साथै कमाइ पनि राम्रै भइरहेको थियो। 

‘सेतो कपास’, ‘आमाको काख प्यारो छ’, ‘चिया कफी खाने की’, ‘चकचके’, ‘रूमाल खस्छ की’, जस्ता गीत गाएका सचिनले नेपालमा चर्चित गायक कलाकारसँग काम गरे। तर यसरी रातारात चम्किएका सचिनले स्कुल मात्रै छोड्नु परेन, काठमाडौंबाटै पलायन भएर गाउँ फर्किनुपर्‍यो। 

‘इन्द्रेणी’का सञ्चालक कृष्ण कँडेलले चन्दा उठाएर पढाइदिने वचन दिएपछि ‘इङ्लिस बोर्डिङ स्कल’मा भर्ना भएका थिए, उनी। उनी गाउँ फर्किएपछि उनका बुवा तेजेन्द्र विवादमा तानिए। उनकै कारणले पढ्न नपाएको आशयमा युट्युबरहरुले कन्टेन्ट बनाए। 

‘सचिन परियार किन माग्दै हिँडेका छन्? सचिनका बुवा तेजेन्द्रको स्कुलमै दादागिरी’, शीर्षक राखेर युट्युबर  भोजराज थापाले आफ्नो मेचीकाली खबर युट्युब च्यालनमा भिडियो राखेका छन्। तीन दिन अगाडि जुन २४, २०२२ मा अपलोड भएको यो भिडियो अहिले युट्युब ट्रेन्डिङको नवौं स्थानमा छ। 

युट्युबहरूले सचिन परियारलाई यसरी हुर्मत लिए  कि लोकगायक तथा लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष बद्री पंगेनीले सामाजिक सञ्जालमा सचिनको पक्षमा युट्युबरसँग अनुरोध नै गरेका छन्, ‘प्रिय युट्युबर मित्रहरु! बाल कलाकार सचिन परियारको बाबा-आमासँग अन्तर्वार्ता लिँदै गर्दा तपाईंहरुले सचिन र उनको भाइ बैनीलाई सँगै नराख्दा के हुन्छ? अन्तर्वार्तामा सचिनको बाबाआमाको अस्वाभाविक संवाद त्यहाँ प्रयोग भएको शब्द र भावहरुले ती बाल मस्तिष्कमा कस्तो असर पर्छ? यति विचार त पुर्‍याइदिनुस् न प्लिज।’

इन्द्रेणी कार्यक्रमका सञ्‍चालक कृष्ण कँडेलले पनि एक भिडियोमार्फत युट्बरहरुलाई सचिन र उसका भाइबहिनीको भविष्यमा खेलबाड नगर्न आग्रह गर्दै भनेका छन्, ‘पत्रकारिताको एउटा आचारसंहिता हुन्छ। तपाईंहरू पत्रकारिता गर्नोस्, सचिनको बाउलाई विषय नबनाउनोस्, त्यो बालकलाई राम्रोसित पढ्न दिनोस्।’

पछिल्लो समय केही युट्युबरहरुले भ्युजका नाममा गाउँघरका सोझासाझा पात्रहरुको भावनामाथि निरन्तर खेलिरहेका छन्। काठमाडौंदेखि टाढा दूरदराजमा भेटिएका पात्रलाई विश्वमा छरिएका नेपालीमाझ लोकप्रिय बनाउन खोजे पनि भविष्यमा तीनै युट्युबरले उदांगो पारिदिएका छन्। पहिला उचालेर पछि पछार्ने क्रियाकलापमा उनीहरु नै सक्रिय छन्। 

२९ भदौ २०४८ मा संयुक्त राष्ट्रसंघीय बालअधिकार महासन्धि (युएनसीआरसी) अनुमोदन गरेकाले नेपाल यसको पक्ष राष्ट्र हो। महासन्धिमा पत्रकार एवम् सञ्चारकर्मीसँग सम्बन्धित बुँदाहरू छन्। गोपनियताको हक धारा १६ मा समावेश गरिएको छ, जुन महत्त्वपूर्ण अधिकारमध्ये एक मानिन्छ। यसमा प्रष्ट भनिएको छ, ‘कुनै पनि बालबालिकालाई उसको व्यक्तिगत, पारिवारिक, घरेलु वा पत्राचार, वा यस्तै अन्य विषयमा गैरकानुनी वा मनपरी तरिकाले हस्तक्षेप गर्न पाइँदैन, साथै उनीहरूको सम्मानमा चोट पुर्‍याउन पाइँदैन।

जीवनमा तीन सयभन्दा बढी लोकगीत तथा लोकदोहोरी गीत लेखेका प्रह्लाद सुवेदीले नेपाली लोकसंगीतमा विकृति भित्रिन युट्युबको भूमिकालाई नकार्न सकेनन्। उनले भने, ‘युट्युब च्यानल भनेको एउटा प्लेटफर्म हो। सबैले प्रयोग गर्न पाउनु पनि पर्छ, तर युट्युब च्यानलमा के राख्‍ने भन्ने विषयमा सबैभन्दा पहिला सर्जकले नै विवेक पुर्‍याउनु पर्छ।’

नेपाली लोकसंगीत भनेको जसले पनि गाउने अधिकार छ। लोकजीवनमा आफ्नो सुख दुःखका भाका गाएर चित्त बुझाउने नेपाली समाजमा अहिले पनि छ। तर, युट्युबमा भाइरल भएका पात्रलाई च्याप्प समाएर भ्युज बढाउन गीत गाउन दिनुचाहिँ असली स्रष्टामाथि अन्याय हुने बताउँछन्, लोक गायक विष्णु खत्री। ‘लोकप्रियताको लागि गीतसंगीतमा भाइरल भएकालाई भित्र्याउन थालियो भने नेपाली लोकगीत कता जाला?,’ उनी प्रश्न गर्छन्।

पछिल्लो समय केही युट्युबरहरुले भ्यूजका नाममा गाउँघरका सोझासाझा पात्रहरुको भावनामाथि निरन्तर खेलिरहेका छन्। काठमाडौंदेखि टाढा दूरदराजमा भेटिएका पात्रलाई विश्वमा छरिएका नेपालीमाझ लोकप्रिय बनाउन खोजे पनि भविष्यमा तीनै युट्युबरले उदांगो पारिदिएका छन्। पहिला उचालेर पछि पछार्ने क्रियाकलापमा उनीहरु नै सक्रिय छन्। 

फेसबुक, इन्स्टाग्राम, टिकटक प्रयोगकर्ता र युट्युबरले भाइरल त बनाउन सक्छन् तर तिनको भविष्यलाई निरन्तर उज्यालो बनाउन भने सकेका छैनन्। गीतकार सुवेदी भन्छन्, ‘तत्काल सेलिब्रेटी हुने दौडमा छौं हामी। भाइरलको पछाडि लागेर आफू नै भाइरल हुन खोजिरहेका छौं, यस्तो हुनु भनेको मौलिक गीतसंगीत र स्रष्टाको महत्व नबुझ्नु हो। कम्तीमा कलाकार नै गम्भिर भइदिनुपर्छ।’ 

केही गायक-कलाकारका अनुसार दोहोरीको नाममा व्यावसायिक हुँदै गएको लोकसंगीतमा विकृति बढेको छ। ‘पछिल्लो समय नेपाली लोकदोहोरी क्षणिक चर्चा र पैसाका कारण फोहोरी हुँदै गएको छ। अनि युट्युबको आडमा उनीहरुलाई भाइरल हुनु छ’, लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश विजी भन्छन्। 

नेपाली समाजमा लोकसंगीतको विशिष्ट स्थान छ। लोकसंगीत नेपाली माटोसँग जोडिएको छ, जसले नेपाली समाजलाई सद्भाव र जीवन्त राख्न सघाउँछ। युट्युबमा हँसाउदै आएका यी दुई पात्रलाई नेपाली लोकसंगीतका स्थापित स्रष्टाले गीत गाउने अवसर दिनु आफैँमा नराम्रो त होइन, तर यिनले गीत गाएर नेपाली लोकसंगीतलाई राम्रै हुन्छ भन्ने मतमा छैनन् खत्री। खत्रीका अनुसार सामाजिक सञ्जालमा हँसाएर भाइरल भएकालाई गीत गाउन दिएर लोकसंगीत क्षेत्रका स्रष्टालाई अपमान गरियो।

दुई दिनका लागि भाइरल भएकालाई लोकगीत गाउन दिन नहुने बताउँछन् खत्री। भन्छन्, ‘यसरी लोकगीतको मर्म नबुझी जथाभावी गीत गाउन लगाउनु त लामो समयदेखि लोकसंगीतमा लागेको स्रष्टाहरुकै अपमान हो।’ 

लोकसंगीतमा क्रियाशील स्रष्टा भाइरलको पछि कुदेको देखेर चकित छन्, खत्री। यो विकृति रोक्न संस्थागत पहल नै आवश्यक देख्छन्, उनी। सोमबार खत्रीले सामाजिक सञ्जालमा आक्रोश पोखे। सायद हदै लागेर होला, उनले फेसबुकमा स्टाटस लेखे, ‘भाइरल बनायो, गीतै गाउन लगायो। स्वर नभएकाहरुलाई पनि गीत गाउनै लगायो। हाम्रो क्षेत्रलाई बदनामी गराउने तिम्रो हर्कत कहिलेसम्म? अथाह मिहिनेत गरेर अनवरत खटेर चर्को लगानी लगाएर शुद्ध बनाएको यो क्षेत्रलाई धमिल्याउने दुस्कर्म कसरी गर्न सक्यौ? संस्कृति हाम्रो जननी हुन्। आमा हुन्। हामीलाई हाम्रो आमाको माया छ। तिमीलाई माया छैन होला जाउ र भन आमा मलाई डलर र भ्युज कमाउनु छ।’

गायक खत्रीले आफूले लेखेको स्टाटसलाई गायक तथा संगीतकार वसन्त थापालाई पनि ट्याग गरेका छन्। तर, थापा यो प्रवृत्तिलाई समयले ल्याएको परिवर्तन मान्छन्। परिवर्तनका आयामलाई स्वीकार्दै जान सके भाइरल जिनिस विस्तारै पाखा लाग्ने बताउँछन्, उनी। भन्छन्, ‘युट्युबमा भाइरल भएकाले गीत गाउँदैमा लोकसंगीत तहसनहस हुने भन्ने हुँदैन। यो भर्चुअल प्राइमरी फेज हो। अलिकति समयले ल्याएको परिवर्तन पनि हो। यो आफैं हराउँछ।’

वसन्तका भाइ दुर्गेश थापा पनि भाइरल हुने जथाभावी कन्टेन्ट बनाएको भन्दै आलोचनामा पर्ने गर्छन्। लोकदोहोरी प्रतिष्ठान नै उनीविरुद्ध एक्सनमा उत्रिएको छ। वसन्त लोक संगीतमा अब्बल चिनिए पनि भाइ दुर्गेशका कारण उनी भाइरल पात्र र प्रवृत्तिविरुद्ध खासै टिप्पणी गर्दैनन्, लोकसंगीतमा उनीबारे यस्तै चर्चा छ। हामीसँग पनि उनले ‘भाइरलले लोकसंगीत बिगारेको’ खुलेर स्वीकार्न चाहेनन्। तर स्रष्टाहरुले कस्ता पात्रसँग काम गर्ने, त्यसमा भने सचेत हुनुपर्ने उनको सुझाव थियो। ‘स्रष्टा स्वय् सचेत हुनुपर्छ । भाइरलहरु बिस्तारै पाखा लाग्छन्,’ उनले भने। 

यता संगीतकार बीबी अनुरागी भने भेलु बाजेलाई गीत गाउन दिएर आफूले लोप हुनै लागेको प्युठानी ठाडी भाकालाई जोगाएको तर्क दिइरहेका छन्। लोपोन्मुख मौलिक गीतलाई रेकर्डिङ गरेर संरक्षण गर्न खोजेको उनी बताइरहेका छन्। ‘स्वर जस्तो भए पनि लोप हुन लागेको गीतको संरक्षणका लागि निःशुल्क रेकर्डिङ गराई आफ्नै फेसबुक पेजमा राखेको बताउँदै उनले ‘गल्ती भए क्षमा पाउँ’ भन्दै सामाजिक सञ्‍जालमार्फत माफी पनि मागेका छन्। 

नेपाली मौलिक लोकसंगीतका नाममा छाडा शब्द र द्विअर्थी लाग्‍ने बोलीचालीका शब्दलाई प्रयोग गर्नु र भाइरल भएकालाई गीत गाउन लगाउनु दुवै सस्तो लोकप्रियताका लागि भएको स्वीकार्छन्, गीतकार सुवेदी। ‘यसरी न लोक संगीत उँभो लाग्छ, न सर्जक नै। त्यसो भए किन भाइरलको भर?,’ उनको प्रश्न छ।

प्रकाशित: Jun 29, 2022| 15:45 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।