काठमाडौं- शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक समिति सदस्य माधवप्रसाद तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ। तिमल्सिनालाई मंगलबार ललितपुरको थसिखेलबाट पक्राउ गरिएको हो।
तिमल्सिनाले बोर्डको सञ्चालक पदका नियुक्त हुनका लागि उनले पेस गरेको प्रमाणपत्र कीर्ते भएको आरोप लागेपछि पक्राउ गरिएको सीआईबीले जानकारी दिएको हो।
उनले पाटन बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरेको प्रमाणपत्र र ट्रान्सक्रिप्ट पेस गरेका थिए। ती दुवै कीर्ते भएको आरोप उनीमाथि लागेको छ।
उनलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको पनि सिआइबीले जानकारी दिएको छ।