शुक्रबार, पुस १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • परिवारसँग विद्रोह गरेर खडा गरेको एउटा स्टार्टअप, जसले गर्छ घरको उपचार

Siddartha premir insuranceSiddartha premir insurance

परिवारसँग विद्रोह गरेर खडा गरेको एउटा स्टार्टअप, जसले गर्छ घरको उपचार

नेपाल स्टार्टअप फेस्ट २०२२ मा ३०० कम्पनीबाट स्किल सेवा टप दसमा मात्र पर्न सफल भएन, साढे ८ करोडको लगानी प्रस्तावसमेत पाउन सफल स्टार्टअप कम्पनी बनेको छ।
 |  बुधबार, असार १५, २०७९
nespernesper

सृजना राई

सृजना राई

बुधबार, असार १५, २०७९

ntc landingntc landing

‘स्किल सेवा, तपाईंको घरको डाक्टर। तर हामी बिरामी मान्छे होइन, बिरामी घरको उपचार गर्छौं,’ आफ्नो कम्पनीको परिचय दिँदा रमेश तिमल्सिनाले भन्ने  कुरा हुन्, यी। ‘व्यक्तिले जीवनभरको कमाइ बटुलेर आफ्नो सपनाको घर बनाउँछ। तर घर बनाइसकेपछि पनि धेरै समस्या आउन सक्छन्। घर बनाइसकेपछि होस् वा किन्नुअघि, त्यस्ता समस्याको समाधान हामीले गरिदिन्छौं,’ तिमल्सिना भन्छन्।

himalayan bank box

२०७६ सालदेखि सुरु भएको स्किल सेवाले अहिलेसम्म १० हजार संख्याका घरको उपचार गरिसकेको छ। स्किल सेवाका कार्यकारी प्रमुख हुन्, २८ वर्षीया रमेश तिमल्सिना। 

नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले हालै आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ मा ३०० कम्पनीबाट स्किल सेवा टप दसमा मात्र पर्न सफल भएन, साढे ८ करोडको लगानी प्रस्तावसमेत पाउन सफल स्टार्टअप कम्पनी बनेको छ। 

तिमल्सिनाका भाइ महेश र कलेजका साथी रामशरणविक्रम थापाले स्किल सेवा सञ्चालन गरिरहेका छन्। अनामनगरको सानो अपार्टमेन्टमा उनीहरूको कम्पनी छ, स्किल सेवा। स्किल सेवामा ३५ ओभरसियर, इन्जिनियर पूर्णकालीन र २०० अन्य कर्मचारी आंशिक रूपमा काम गर्छन्।

‘घरले सास फेर्दैन। अरू सबै हाम्रो शरीरजस्तै हो। हाम्रो छालाजस्तै घरको प्लास्टर हुन्छ। घरभित्र हुने विभिन्न समस्यामध्ये प्लास्टरमा बढी देखिन्छ,’ उनले सरल तरिकामा कम्पनीले दिने सेवाबारे बुझाए। 

vianet

रमेश भन्छन्, ‘हामी सुरुमै टेक्निसियनलाई मर्मत गर्न पठाउँदैनौं। सुरुमा समस्याको जड पत्ता लगाउन विशेषज्ञ टोली पठाउँछौं। हामीसँग हाइटेक डिभाइस छन्। घरको इन्स्पेक्सन (निरीक्षण) गर्छौं। बिजुलीको फ्युजदेखि रड, रेलिङ, पानीका पाइप, बत्ती, सिमेन्टको गुणस्तरलगायतका समस्याको पहिचान हुन्छ।’ 

रमेशका अनुसार उनको कम्पनीले अहिले दैनिक १० देखि १५ घरमा काम गर्छ। ‘हाम्रो साधारणतया घर इन्स्पेक्सनको काम २ हजार शुल्कबाट सुरु हुन्छ। समस्या पत्ता लगाएर त्यसको सबै रिपोर्ट र सम्भावित मर्मत शुल्कसहितको रिपोर्ट घरधनीलाई दिन्छौं। उहाँहरू मर्मतका लागि तयार भएपछि मात्र हामी काम थाल्छौं।’

घरको उपचारलाई रमेश र उनको टिमले व्यापार बनाउँदै लगेका छन्। 


कम्पनीका पार्टनर रामशरणविक्रम थापा रमेशको कलेजदेखिका मिल्ने साथी हुन्। दुवैले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ गरेका हुन्। त्यसअघि रमेशले डिप्लोमा अटो मोबाइल सकाएर २ वर्ष जागिर पनि गरेका थिए। ‘गाडीमा ५० लाखसम्मको ‘हाइ क्लासको मेन्टेनेन्स’ गर्ने वर्कसप काठमाडौंमा देखें। त्यसबेलादेखि नै मलाई आइडिया फुरेको हो– घरसम्बन्धी मर्मतको काम किन नगर्ने?’

ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गर्दा उनीहरू पढाइसँगै प्रतिस्पर्धामा सहभागी भइरहन्थे। ‘हामीले हाइड्रोपावरको पम्प स्टोरेजमा रिसर्च पेपरसँगै प्रिजेन्टेसन गरेका थियौं। एक वर्षमा सबै प्रतिस्पर्धा जित्यौं। केही फरक गरे त्यसमा सफल हुन सकिन्छ भन्ने आत्मविश्वास बढ्यो,’ उनी सफलताको गुदी खोल्छन्।

उनले कागजमा बनेको हाइड्रोपावरसम्बन्धी योजना, लगानी, आइडिया र सञ्चालनका हिसाबले व्यावहारिक प्रयोगमा सम्भव देखेनन्। अर्कोतर्फ उनलाई परिवारबाट जागिरका लागि दबाब आउन थाल्यो। 

‘स्टार्टअप भनेपछि परिवार मान्न तयार थिएन। इन्जिनियरिङ पढेपछि कि जागिर खाने कि विदेश जाने दबाब आउँथ्यो,’ रमेश भन्छन्। तर उनले न जागिर रोजे, न त विदेश। उनी भन्छन्, ‘केही समय विदेश जाने सोच भने नआएको होइन। आफूसँगैका साथीहरू विदेशिएपछि मलाई पनि जाऊँ कि भन्ने लागेको थियो। तर अध्ययन गर्दैै जादा त्यहाँ १८ घन्टा खटिएर गर्ने कामभन्दा मैले नेपालमै १७ घन्टा खटिए केही होला कि भन्ने लाग्यो।’

त्यसपछि उनले परिवारसँग १ हजार दिनको समय मागे रे। ‘घरमा मैले मात्र १ हजार दिन मागे। यी दिनभित्र म आफ्नो इच्छाबमोजिम कोसिस गर्छु। असफल भए विदेश वा सरकारी जागिरमा भिडौंला भनेर मनाएँ,’ उनले विगत कोट्याए। 

नेपाल स्टार्टअप फेस्ट २०२२ मा ३०० कम्पनीबाट स्किल सेवा टप दसमा मात्र पर्न सफल भएन, साढे ८ करोडको लगानी प्रस्तावसमेत पाउन सफल स्टार्टअप कम्पनी बनेको छ। 

२०७५ अन्त्यतिर बनेको योजना बन्यो। २०७६ मा उनीहरूले सिभिल इन्जिनियरिङको अन्तिम वर्षको परीक्षा दिए। परीक्षा दिएको भोलिपल्टै उनीहरू कम्पनीको काममा जुटे। सोही दिन अनामनगरको एक स्टोर रुमबाट उनीहरूको स्टार्टअप यात्रा सुरु भयो। 

‘पार्टनरको रूपमा एक मित्रले हामीलाई साथ दिनुभयो। हामीसँग ३ लाख लगानी थियो। उहाँको अफिसमा एउटा स्टोर रुम खाली रहेछ। हामीले त्यही रुम सफा गरेर कम्पनीको योजना बनाउन थाल्यौं,’ रमेशले सुरुको योजना सुनाए। रमेश के काम गर्ने भन्नेमा निश्चित भए पनि कसरी सुरु गर्ने भन्नेमा दोधारमा थिए।

‘त्यो समय हामीसँग मार्केटिङ र व्यवस्थापनको पाटोबारे कुनै अनुभव र ज्ञान थिएन। मात्र उत्साह थियो,’ उनले भने। उत्साहमा आँट थप्दै उनीहरूले ५०० खाम छापे। खाममा आफ्नो कम्पनीको काम र प्रपोजलसहित उनीहरूले वरपरका पसल एवं संघ–संस्थाहरूमा बाँड्न थाले। 

‘५०० खाम बाँडेको केही सातामा हामीले काम पाउन सुरु गर्यौं,’ उनी भन्छन्। पहिलो काम र कमाइ उनका लागि खुसीसँगै स्टार्टअपको यात्रामा पहिलो पाठ बन्यो। ‘पहिलो काम पाएको दिन हामीले कार्पेन्टर दाइलाई आफ्नै बाइकमा लगेर काम गरायौं। उहाँ अहिले पनि हामीसँगै हुनुहुन्छ। ६५० रुपैयाँ पाएका थियौं। त्यसबाट ज्याला कटाएर हामीले १५० नाफा राख्या,’ कम्पनीको पहिलो आम्दानीबारे उनले सुनाए।

त्यसपछि बजारमा कम्पनीको विज्ञापन दिएपछि कामका लागि फोन आउने क्रम बढ्न थाल्यो। तर कम्पनी सुरु गरेको ६ महिनासम्म घाटामै चलाउनुपरेको उनले बताए। ‘१०० भन्दा बढी घरको काम गरिसक्दा पनि कम्पनीको रूपमा मुनाफा बचाउन सकेनौं। प्लम्बरसँग १०० रुपैयाँ लिएर कम्पनी कसरी चलाउने? फ्रीमा पाएको कोठाको भाडा तिर्ने समय आयो। आयभन्दा व्यय बढी देखिन थाले पनि म आत्तिइहालेको थिइनँ,’ रमेश भन्छन्, ‘कम्पनी दर्ता गरिसक्ने अवस्थामा थिएनौं।’

काम गर्ने क्रममा कम्पनीको नाममा चेक काटिएपछि मात्र कम्पनी दर्ता गरिएको उनी सुनाउँछन्। त्यसपछि चेकबाट प्राप्त रकमले कोठा भाडा तिर्न पुग्यो। नयाँ काम गर्दै जाँदा रमेशले स्टार्टअपको विषयमा अझ बढी रुचि राख्न थालेका थिए। अन्य स्टार्टअपसँग सल्लाह लिनेदेखि स्टार्टअपमा सहयोग पुग्ने कार्यक्रम कुनै पनि नछुटाएको उनले बताए। 

‘२०७६ को अन्त्यतिर हामी क्यान इन्फोटेकमा सहभागी बनेका थियौं। त्यहाँ हामीले राम्रो रकम तिर्ने तयार ग्राहक पायौं। ५ दिनमा १०० वटा बुकिङ पाए पनि कामका लागि आवश्यक मेसिन, औजार थिएनन्,’ उनी भन्छन्।

स्टार्टअपको सपनालाई आकार दिन जुटेका रमेश काठमाडौंका नयाँ बस्तीसहित उपत्यका बाहिर पोखरा, बुटवल मात्र होइन, देश बाहिरसम्म कम्पनी विस्तार गरेर उडान भर्ने योजनामा छन्।

त्यसपछि उनीहरूले तत्कालै बैंकबाट ऋण लिए र मेसिन, उपकरण किन्न भारत हान्निए। रमेश भन्छन्, ‘घर इन्स्पेक्सनका लागि आवश्यक सामान किन्न भारत गयौं। तर भारतको राजधानी नयाँदिल्ली पहिलो पटक गएका थियौं । हामी गल्लीभित्रै रुमलियौं।’

नेपाल फर्केको केही समयमै कोरोना महामारी फैलियो। उनीहरूको काम पनि केही महिना ठप्पै भयो। महामारीको पहिलो लहरपछि उनीहरूले अहिले कामलाई निरन्तरता दिइरहेका छन्। ‘हामी सबैतिर पुग्छौं तर अहिले धेरै माग नयाँ बस्ती जस्तो, बूढानीलकण्ठ, टोखा, बौद्ध र भैंसीपाटीमा छ। ती स्थानमा काम पाइरहेका छौं’, रमेश खुसी सुनिन्छन्।

हाल दैनिक १५ देखि २० वटासम्म बुकिङ लिने गरेको रमेश बताउँछन्। स्किल सेवा सञ्चालन भएको केही वर्षभित्रै लाखौंको कमाइ गर्न थालेको उनको भनाइ छ। 

‘नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले आयोजना गरेको नेपाल स्टार्टअप फेस्ट २०२२ बाट साढे ८ करोड लगानी प्रस्ताव आएको छ । त्यसले थप हौसला दिएको छ,’ उनले भने। 

परिवारसँग विद्रोह गरेर खडा गरेको कम्पनीप्रति उनलाई अहिले पछुतो छैन। यसलाई अझ ठूलो कम्पनीको रूपमा अघि बढ्न प्रेरणा मिलेको छ। ‘मेरो बुबासँग स्टार्टअप गर्न विद्रोह गरें। तर मेरो कम्पनीलाई विश्वास गर्ने धेरैजसो सेवाग्राही बुबाकै उमेरका हुनुहुन्छ,’ उनले भने।

कम्पनी क्रमशः उकालो लाग्दै जाँदा लगानी गर्न चाहनेहरू धेरै हुन थालेका छन्। उनी भन्छन्, ‘धेरै लगानी आउँदैमा स्टार्टअप बलियो हुँदैन। सबैभन्दा बढी आइडियालाई स्वरूप दिन मिहिनेत र कामप्रति लगाव चाहिन्छ।’

हुर्किनुअघि नै निमोठ्ने काम 

स्टार्टअप यात्रामा अनवरत अगाडि बढेका रमेश भन्छन्, ‘सरकारले स्टार्टअपलाई चिन्दैन रहेछ। अर्बपति विनोद चौधरी र रमेश तिमल्सिनाको करको भार उस्तै छ। स्टार्टअपलाई सरकारले हुर्काउन मलजल गर्नुपर्ने हो। हुर्किएपछि पाउने फल खोज्ने हो । हामीलाई सानोमै निमोठ्ने काम भइरहेको छ।’

‘हामीले बिउ पुँजीका लागि कोसिस गरेका थियौं। ५० लाख बिउ पुँजी पाउन सरकारले तोकेको सबै मापदण्ड पूरा गरे पनि पाएनौं। सरकारी कर्मचारीसँग अपडेट लिन खोज्दा उहाँहरू नै अलमल देखिनुहुन्थ्यो,’ उनले स्टार्टअप सञ्चालनका अप्ठेरा सुनाए।

चुनौतीका बाबजुद स्टार्टअपको सम्भावना र अवसर खोज्दै रमेश आफ्नो सपनालाई आकार दिन जुटेका छन्, ‘हाम्रो कम्पनी काठमाडौंका नयाँ बस्तीबाट उपत्यका बाहिर पोखरा, बुटवल मात्र होइन, देश बाहिरसम्म विस्तार गर्ने सपना छ । लगानी पाइरहेका छौं। अब उडान भर्न बाँकी हो।’

प्रकाशित: Jun 29, 2022| 08:47 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्