काठमाडौं– चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।
चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याइएको हो।
नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत् पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो।
७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटा निर्माण गरी तार टाँगिएको छ। भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापिङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ।
भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो। भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत् प्रवाह हुनेछ।
अब अरुण खोला पूर्वतर्फका कावासोतीलगायत क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत् आपूर्ति हुनेछ। ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत् खपत हुने गरेको छ।
पुरानो १३२ केभी लाइनबाट कावासोतीलगायत क्षेत्रमा विद्युत् आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब १०० मेगावाट विद्युत् सीधै पठाउन सकिनेछ।
अहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षेत्रमा विद्युत् आपूर्ति गरी बाँकी विद्युत् बर्दघाटतर्फ प्रवाह हुन्थ्यो। अहिले चालू रहेको भरतपुर–बर्दघाट १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ। यसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत् पठाउन नसकिने बाध्यात्मक अवस्था थियो।
भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोतीलगायत क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकाले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत् आपूर्ति गर्न सकिनेछ।
भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ विद्युत् थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘भरतपुरतर्फ विद्युत्को माग बढी रहेको तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत् पठाउन सकिरहेका थिएनौं। अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकाले थप विद्युत बर्दघाटतर्फ पठाउन सक्छौं। यसबाट त्यस क्षेत्रको विद्युत् आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने।
पश्चिम क्षेत्रमा विद्युत आपूर्तिका लागि टनकपुरबाट बाध्यात्मक रूपमा गर्नुपर्ने आयात घट्नुका साथै भोल्टेजमा पनि सुधार हुने उनले बताए।
नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुई वटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण पूरा हुन सकेको छैन। सर्वोच्चले आइतबार रिट खारेज गरिदिएकाले अब दुई वटा टावर निर्माणको बाटो खुलेको छ।
प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ चैतबाट रोकिएको थियो।
सर्वोेच्चले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारण प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए।