जाजरकोट- जाजरकोटको नलगाड नगरपालिका-१ चिउरीका एक पुरुषले गत असार ५ आफ्नै श्रीमतीलाई कुट्दै जंगल लगे। श्रीमान् लेकबहादुर नेपालीको रिस त्यतिले मात्र पनि पुगेन। प्रचुर रिसमा होस गुमाए। ४२ वर्षीया श्रीमती भगवति शाहीलाई भीरबाट खसालेर हत्या गरे।
असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। हत्यामा संलग्न लेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले नजिकैको जंगलमा भीरबाट खसाएर हत्या गरेको प्रारम्भिक बयानमा खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले बताए।
हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको छ। शुक्रबार चिउरीको जंगलमा एक महिलाको शव गन्हाउने अवस्थामा स्थानीयले फेला पारेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
अनुसन्धानका क्रममा शव भगवतिको भएको पुष्टि भएपछि प्रहरीले शंकाको घेरामा श्रीमानलाई राखेर अनुसन्धान थालेको थियो। लेकबहादुर र भगवतीले माओवादी शसस्त्र द्वन्द्वको समयमा २२ वर्षअघि अन्तर्जातिय विवाह गरेका गरेका थिए।
दुवै माओवादी सशस्त्र द्वन्द्वमा होमिएका कारण पनि उनीहरूको प्रेम सम्बन्धलाई कसैले औला ठड्याउन सकेका थिएनन्। माइती पक्षले उक्त विवाहलाई स्वीकार गरेको थिएन। छोरीलाई मात्र घरमा बोलाउँथे, ज्वाईलाई बोलाएका थिएनन्।
लेकबहादुर दलित थिए। उनीहरूबीच त्यही विषयमा बेला-बेला विवाद भइरहन्थ्यो। अर्को मनमुटाव हुने कार णथियो लेकबहादुर बेरोजगारी। बेरोजगार भएकै कारण घर व्यवहार चलाउन समस्या भएपछि उनीहरूबीच मनमुटाब पनि बढ्दै गएको थियो।
घरायसी विवाद बढ्दै गएपछि र रोजगारी अभावले तनावमा रहेका लेकबहादुरले जाँडरक्सीको मात्रालाई बढाउँदै लगे। यसले उनीहरूको सम्बन्धमा थप दरार सिर्जना गर्दै लग्यो। श्रीमान्ले जाँडरक्सीको सेवन गर्दा भगवतिलाई एक छोरा र एक छोरीको लालनपालनमा पनि समस्या हुनथाल्यो।
यही विषयमा विवाद हुँदा धेरै जाँडरक्सी पिएर लेकबहादुर श्रीमतीलाई कुट्न थाले। लेकबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा श्रीमती आफैँ भीरबाट लडेको बनाउन घटनास्थललाई सोही अनुसारको बनाउन खोजेको पाइएको प्रहरीले जनाएको छ।
मृत शरीरलाई जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरीको भनाइ छ। मृतकको घर र शव एक सय मिटरको दुरीमा रहेको छ।