भैरहवा- कोरोना महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्।
उनीहरूले संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका हुन्। २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए।
लामो समयसम्म पर्खिंदा पनि सरकारले बेवास्ता गरेको भन्दै स्वास्थ्यकर्मीले आन्दोलन गर्न बाध्य भएको बताए। अस्पतालका कर्मचारी ७ असारमै संघर्ष समिति बनाएर आन्दोलनमा गएको उपाध्यायले बताए।
भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ।
प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने उदघोष गरेका थिए।