काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकामा आगामी ५ वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरूपमा सञ्चालन गरिने भएको छ।
काठमाडौंको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी ५ वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको हो।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले नगरपालिका भित्रको कला, साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने बताए।
सबै जातजाति र समुदायका विभिन्न भाषा, लिपी, साहित्य, संगीत, कलाको संरक्षण र विकास गर्न जोड दिने बताइएको छ।
स्थानीय सडक कालोपत्र गर्न जोड दिने, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण गर्ने, सार्वजनिक शौचालय निर्माण गर्ने, पानीसहित एक घर, एक धारा अभियान सञ्चालन गर्ने, नगरभित्रका सबै खोलामा आवश्यकता अनुसार करिडोर निर्माण गर्ने तथा वृक्षरोपण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नगरपालिका भित्रको यातायातलाई व्यवस्थित गर्न मुख्य चोकमा ट्राफिक बत्ती जडान गर्नुका साथै नगरवासीको सुरक्षाका लागि चोकचोकमा सीसी क्यामरा जडान गरिने बताइएको छ।
कृषिलाई आधुनिकीकरण गरिने, कौसी खेतीलाई प्रोत्साहन गरिने, पशु बीमा कार्यक्रम सुरू गरिने, तरकारीमा आत्मनिर्भर नगरपालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
नगरपालिकाले पर्यटन पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुका साथै यहाँ भएका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकको लागि आर्कषकको केन्द्रविन्दु बनाउने नीति लिएको छ। नगरपालिकाभित्र भएका मठमन्दिरको उचित संरक्षण गर्ने, उद्योग विकास रणनीति योजना निर्माण गरिने, लघु उद्योगको स्तरोन्नति गर्ने, नगरपालिकाभित्रका सबै स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको टोली खटाउने बताइएको छ।
ष्ठ नागरिक, अपाङ्ग तथा अशक्त नगरवासीको घरमा पुगेर स्वास्थ्य उपचार प्रदान गरिने, नगरभित्र खेलकुद विकासका लागि ‘नगर खेलकुद कोष’ स्थापना गर्ने, नगरपालिकाभित्र खेलकुद मैदानको स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई तालिम प्रदान गर्ने, नगरभित्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
महिला हिंसा न्यूनीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त नगरपालिका निर्माण गर्ने, बाल क्लब गठन गर्ने , बालमैत्री नगर घोषणा गर्ने, प्राकृतिक जोखिमको क्षेत्र अध्ययन गर्ने र त्यस क्षेत्रमा वृक्षरोपण गर्ने विपद्मा परेका व्यक्तिलाई राहत प्रदान गरिने, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गरिने बताइएको छ।
नगरपालिकालाई प्रविधियुक्त बनाउनका लागि आवश्यक पर्ने ऐन, कानून निर्माण गर्ने, करको दायरा बढाउने बताइएको छ। तारकेश्वर नगरपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ६ करोड ४६ लाख १४ हजार बजेट प्रस्ताव गरेको छ।
तीमध्ये आन्तरिक स्रोतबाट २५ करोड ५ लाख ३३ हजार, राजस्व बाँडफाँटतर्फ ५७ करोड ५२ लाख ५१ हजार, अन्य शीर्षकबाट ४५ करोड ७४ लाख ७७ हजार उठ्ने प्रक्षेपण गरेको छ। बाह्य स्रोतअन्तर्गत संघीय सरकारबाट ५९ करोड ६ लाख, प्रदेश सरकारबाट ९ करोड ५२ लाख ५३ हजार, अन्य शीर्षकबाट ५ करोड ५५ लाख अनुमान गरेको छ।
नगरपालिकाले आगामी आवको चालुतर्फ ६७ करोड ६९ लाख ५६ हजार र पुँजीगततर्फ १ अर्ब ३८ करोड लाग्ने अनुमान गरेको छ।