काठमाडौं- सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जमा जाने सम्झौता भएको छ। मर्जर सम्झौतापत्रमा सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष केशवप्रसाद भट्टराई र ज्योति लाइफको तर्फबाट पनि अध्यक्ष नन्द किशोर शर्माले आइतबार हस्ताक्षर गरेका हुन्।
सेयर स्वाप रेसियो विस्तृत अडिट रिपोर्ट (डीडीए)पछि नै तय गर्ने गरी दुई कम्पनीबीच मर्जमा जान सहमत भएका हुन्।
हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ। यदि बराबरी हैसियतमा मर्जर भयो भने मर्जपछि बन्ने कम्पनीको ४ अर्ब ६२ करोड रुपैयाँ चुक्तापुँजी पुग्नेछ। बाँकी ३८ अर्ब रुपैयाँ हकप्रद सेयर जारी गरी पुर्याउने तयारीमा रहेको सूर्या लाइफ इन्स्योरेन्सका एक सञ्चालकले जानकारी दिए।
बिमा समितिले चैत १० गते कम्पनीहरुको चुक्ता पुँजीवृद्धि गर्ने निर्णय गरेको थियो। बीमा समितिले जीवन लाइफ इन्स्योरेन्स कम्पनीको लागि न्यूनतम ५ अर्ब र निर्जीवन जीवन बीमा कम्पनीको चुक्तापुँजी न्यूनतम साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने प्रावधान राखेपछि बीमा कम्पनीहरु मर्जमा जान थालेका हुन्।