मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रहस्यमय बन्दै गायिका सुनारको मृत्यु, मध्यरातमा फेसबुक 'सुसाइड नोट' तर मोबाइल गायब

रहस्यमय बन्दै गायिका सुनारको मृत्यु, मध्यरातमा फेसबुक 'सुसाइड नोट' तर मोबाइल गायब

साइड नोटजस्तो देखिने मृतक सुनारको फेसबुक स्टाटस नै शंकास्पद देखिएको छ। कतै उनको हत्या पश्चात हत्याराले नै स्टाटस लेखेर मोबाइल गायब बनाएको त होइन, प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको बुझिएको छ।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- शनिबार बिहान आफ्नै डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएको छ। अघिल्लो रात फेसबुकमा ‘सुसाइड नोट’ लेखेकी सुनारको अहिलेसम्म मोबाइल र पासो लगाएको कुनै सल नभेटिनुले उनको मृत्यु शंकास्पद देखिएको हो। 

National life

‘घटना शंकास्पद देखिएको छ। मृतक डिप्रेसनमा थिइन् भन्ने पनि आएको छ। तर परिस्थितिले त्यो मात्रै देखाउँदैन। त्यसैले हामी विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं,’ उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी वसन्त कुँवरले भने।  

गायिका सुनार मृत भेटिएको दिनभन्दा अघिल्लो रात १ बजेर २० मिनेटमा उनले आफ्नो फेसबुकमा ‘म थाकेँ, धेरै थाकेँ , अब बाँच्न सक्दिनँ’ भन्दै लामो नोट लेखेकी थिइन्। धेरै अशुद्ध रहेको उक्त स्टाटस उनी आफैँले लेखेकी हुन्/होइनन्, प्रहरीले त्यो पाटोमा पनि अनुसन्धान गरिरहेका छ। ‘उनका पुराना पोस्ट पनि शुद्धसँग लेखिएको देखिएन, तर राति स्टाटस लेखिएको मोबाइल बिहान उनको कोठा नभेटिनु शंकास्पद छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भन्छन्। 

शनिबार नेपालस्टारस्थित आफ्नो कोठाको खाटमा पल्टिरहेको अवस्थामा मृतक सुनारको शव भेटाएको थियो। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव कृष्ण रेउलेले घाँटीमा निलडाम, खुट्टामा घाउ भएको अवस्थामा शव भेटिनु तर माबोइल नभेटिनुले घटना रहस्यमय देखिएको बताए। ‘उनी हालै हामीले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट नवगायिका विधा अन्तर्गत अवार्ड जितेकी प्रतिभा हुन्,’ सचिव रेउलेले भने, ‘सम्भावना बोकेकी गायिका थिइन्। तर, अचानक रहस्यमय मृत्यु सुन्दा हामी स्तब्ध छौं। प्रहरीलाई निष्पक्ष छानबिनका लागि माग गरेका छौं।’ 

सुनार श्रीमानसँग डिभोर्स गरेर डेरामा एक्लै बस्दै आइरहेकी थिइन्। अनुसन्धानको क्रममा प्रहरीले यतिबेला सुनारसँग निकट सम्बन्ध मानिएका एक जनालाई नियन्त्रणमा लिएको छ। सूर्य श्रेष्ठ नाम गरेका ती व्यक्ति शनिबार बिहान मृतकको कोठामा पुगेको समेत देखिएको छ। 

मृतक सुनुवारको निष्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी वृत्त बालाजुमा सयौं दोहोरी कलाकार पुगेका छन्। त्यहाँ सुर्खेतबाट आएका मृतकको परिवार प्रहरीमा जाहेरी दिने तयारी गरिरहेको बुझिएको छ। 

सुनारले मध्यरातमा फेसबुकमा लेखेको सुसाइड नोट:  

नमस्कार, सबै जनामा र सबैलाई मिठो सम्झना छ। यो जिन्दगीको उतारचढाव धेरै भोगेँ तर जब म जान्ने भएँ, अनि म एक्लो भएँ। कसैको माया पाउन जति कोसिस गरे पनि सकिनँ। तर पनि हार खाइनँ, अहिले  धेरै गाह्रो भयो। म बाचेर पनि दिनदिनै मर्न सकिनँ। आमा तिम्री छोरी धेरै थाकिछे। जिन्दगीको मोड धेरै अप्ठेरा आए। पार पनि गरेँ। जसलाई राम्रो गर्छु भनेपनि भएन। म कहाँ जाउँ आमा दुख पोख्न? माइत आउँ भनी तिमीलाई थाहा छ सबै कुरा, भित्रभित्रै मोरेर बाँचेछु। आमा, म नभएर के भो त! चार बहिनी छोरी छन्, मन बुझाउनू होला। नरुनू आमा।

छोरा, तिमीलाई धेरै पढाउने र असल मान्छे बनाउने मन थियो। तर सकिनँ। तिमी जसरी भएपनि ठूलो मान्छे बन्नु है। म नभए पनि मेरो आर्शिवाद सधैँ तिमीसित हुनेछ। बहिनी हर्ष आमालाई गाली नगर्नू। आमा बाँच्दासम्म मेरो कमी हुन नदिनू। मेरो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनू, जसले भएपनि। 

म थाकेँ, धेरै थाकेँ। अब म बाच्न सक्दिनँ। यो दुनियाँ धरै स्वार्थी छ। र, म आफ्नो इच्छाले यो कदम उचालेकी छु। कसैलाई दोष छैन। कसैले खोजीनीति पनि नगर्नू र मलाई पोष्टमार्टम पनि नगर्नू। मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनू। घरबेटीहरुलाई कसैले केही नगर्नू। र, अरुलाई पनि कसैले केही नगर्नू। मेरो लास जसरी हुन्छ, घरसम्म पुर्‍याइदिनू। अप्ठेरोमा मेरो छोरालाई हेर्दिनू। 

छोरा चिन्ता नगर्नू है। यही सम्झिनु, मेरो आमा सानैमा मरेको हो। मन बुझाउनू। मलाई सबैले कायर भन्नुहुन्छ होला र मलाई बाँच्न अति गाह्रो भयो। कतिबेला के हुन्छ, थाहा छैन मेरो जीवन। (अशुद्ध शब्दलाई सम्पादन गरिएको छ।)

स्टाटस नै शंकास्पद 
सुसाइड नोटजस्तो देखिने मृतक सुनारको फेसबुक स्टाटस नै शंकास्पद देखिएको छ। कतै उनको हत्या पश्चात हत्याराले नै स्टाटस लेखेर मोबाइल गायब बनाएको त होइन, प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको बुझिएको छ। ‘मेरो पोष्टमार्टम नगर्नू जस्ता शब्दहरु स्टाटसमा छन्। यसले पनि शंका उत्पन्न गराएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने। 

प्रकाशित: Jun 26, 2022| 15:19 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।