काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरूको क्षमता बढाउन आवश्यक रहेको बताएका छन्।आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन्।
कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्ननसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने उनको भनाइ छ। मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन्दै यसलाई पूर्ण रुपमा चलाउने कार्यदिशामा सरकार अग्रसर रहेको उल्लेख गरे।
रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने काममा सरकार लागिरेहको भन्दै सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि रुग्ण उद्योग सञ्चालन गर्ने तयारी रहेको बताए। मन्त्री बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको दाबी गरे।
‘अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक छ। कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चलेका छैनन् । उद्योगहरुले ६० देखि ७० प्रतिशतसम्म सञ्चालनमा ल्याएका छन्। रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने। सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि चलाउने, निजी क्षेत्रले पनि चलाउन सक्छ, सरकारलाई दिने राजश्व सन्दर्भमा हामीले यो नीतिगत बाटामा जानुपर्छ,' उनले भने, 'बन्द रहेका सबै उद्योग चलाउन सके रोजगारीको अवसर हुन्छ। समग्रमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको छ। सरकारको त्यो नीति रहेको छ। आजकोभन्दा रोजगारी र उत्पादन वृद्धि गर्नेतर्फ हामी जान्छौँ।’
मन्त्री बडूले अहिलेको भन्दा रोजगारी र उत्पादन बढी वृद्धि गर्नेतर्फ सरकार अग्रसर रहेको बताए।