काठमाडौं– थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। विमल सुवेदीको डिजाइन र निर्देशन अनि जेनी सुनुवारको सहायक निर्देशनमा यही असार १७ देखि १९ गतेसम्म तीन दिनका लागि शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो।
नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रंगकर्मी अनुराधा मजुमदार काठमाडौंमा आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ। मजुमदार नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन्, जसले खुमा तथा बाँकी उज्यालो जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन्।
साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट गर्न लागेको भने हैन। २०७० मा थिएटर भिलेजले यसै नाटकमार्फत शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट सत्यमोहन जोशी नाटकघर उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो। तर प्राविधिक कारणले उक्त नाटक पहिलो शो नसकिँदै रोकिएको थियो।
त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो। हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकूल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो। यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन्।
धेरै पहिले लेखिएको भए पनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसंगतितिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन्। उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठूलो धोको थियो। तर पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उनी बिते। ‘नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तराष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्य अनुरुप पहिलो कदमका रुपमा यसै नाटक मञ्चन गर्ने संकल्प गरेका थियौं,’ सुवेदी उनी स्मरण गर्छन्।
अभिनयको लागि हाल नेपालमा रहेकी रंगकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिज्युअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौं आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसंगतिि, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदांगो पारेको बताउँछिन्। त्यो अवस्थाको भारत र नेपालमा खासै फरक नरहेको उनको बुझाइ छ। मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भए पनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने पक्ष आफूलाई सबैभन्दा सुन्दर लाग्ने उनी बताउँछिन्।
उनी भन्छिन्, ‘महिला पात्रमार्फत नाटकले सामाजिक संरचनाले समानताको बाटो बिराउँदा वर्गीय, लैंगिक, सामाजिक, जातीय र आर्थिक जस्ता क्षेत्रमा पार्ने प्रत्यक्ष असरहरू केलाउँछ । नाटकले शून्यवाद नजिक रहेर घिनलाग्दो समाजलाई अनेक कोणबाट प्रश्नहरू गरेको छ।‘ अनुराधाका साथै यस नाटकमा सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहने छ।
थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ पनि मञ्चन गरेको थियो।