विराटनगर- मोरङको उर्लाबारीस्थित आफन्तको घरमा गएका एक जना वृद्ध आइतबार बिहान मृत फेला परेका छन्।
झापाको दमक नगरपालिका–१ का अन्दाजी ६६ वर्षीय नैनसिंह विक बिहान ५:५० बजेतिर मृत अवस्थामा फेला परेको मोरङ प्रहरीले जनाएको छ।
उनी उर्लाबारी नगरपालिका–१ बयरडाँगीस्थित आफन्त खेमबहादुर दर्नालको घरमा गएका थिए। उनको शव उर्लाबारी–१ कै नैनबहादुर विकको घरपछाडिको खेतमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नैनसिंहको मृत्युको कारण खुलिसकेको छैन। यद्यपि हिँड्ने क्रममा चिप्लिएर लडेका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।