काठमाडौं- कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको बाढी सूचना केन्द्रले आइतबार बिहान ३ बजे सूचना जारी गर्दै उक्त क्षेत्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको जनाएको छ। आइतबार बिहान ९ बजेसम्म उक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी सूचना केन्द्रका अनुसार त्यहाँ पछिल्लो चौबिस घण्टामा १७१.५ मिलिमिटर वर्षा मापन भएको छ। २४ घण्टामा १४० मिलिमिटरसम्म वर्षा मापन भएमा बाढीपहिरोको जोखिमको खतरा हुने बताइन्छ।
अति भारी वर्षाका कारण कास्की र आसपासका खोलामा आकस्मिक बाढी आउन सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जान सक्ने जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ।
बाढी सूचना केन्द्रले आज असार १२ गते त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, कालीगण्डकी, पश्चिम राप्तीका शाखा नदीहरू लगायत प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश भई बग्ने नदीहरुम बहाव बढ्ने र आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान अघिल्लो दिन नै सार्वजनिक गरेको थियो।