काठमाडौं- चीनमा यसै वर्ष आयोजना हुने भनिएको एसियाली खेलकुद स्थगित भइसकेको छ। एसियन ओलम्पिक कमिटीले यो खेल कहिले हुने भन्ने निर्णय गरिनसके पनि अर्को वर्ष हुने चर्चा चलिरहेको छ।
सोही प्रतियोगितालाई ध्यानमा राखेर नेपाली खेलाडीलाई विभिन्न खेल अभ्यासमा अभ्यस्त गराउने काम भइरहेको छ। ‘यसै आर्थिक वर्षमा एसियाली खेलकुदका लागि पहिलो चरणको अभ्यास गर्छौं। अर्को आर्थिक वर्ष सुरु भएसँगै त्यसलाई निरन्तरता दिनेछौं,’ नवौं राष्ट्रिय खेलकुदको मिति घोषणा गर्दै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गतहराजले गत जेठ १० गते भनेका थिए।
मन्त्रीको भनाइअनुसार नै अहिले राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले बन्द प्रशिक्षण सुरु गरेको छ। महिला भलिबल टिमको पनि प्रशिक्षण सुरु भएको छ।
त्यसो त, अन्य बेला नेपाली टिमको बन्द प्रशिक्षण प्रतियोगिता एक डेढ महिना अघिबाट मात्रै सुरु हुने गरेको थियो। तर यो वर्ष भने प्रतियोगिताको मिति टुंगो नलाग्दै बन्द प्रशिक्षण सुरु भएको हो।
सिनियर महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट भन्छन्, ‘राखेपले एसियाली खेलकुदमा सहभागी हुने हरेक खेलमा सहभागी हुनेलाई राष्ट्रिय टिम बनाएरै लामो समयको कार्यक्रम बनाएर अभ्यास सुरु गर्ने भएको छ। सोहीअनुसार २०÷२५ वर्षमा यो कार्यक्रम पहिलो पटक भइरहेको हो।’
अहिले नै एसियाली खेल तालिका आइसकेको छैन। यद्यपि २०२३ मा हुने विश्वास गरिएको छ। त्यसैले नेपाली टिमका लागि कम्तीमा पनि सात–आठ महिने अभ्यासको समय छ। ‘यो समय धेरैभन्दा धेरै सिनियर र जुनियर खेलाडीलाई अभ्यासमा लिएर जाँदा त्यसले नतिजा राम्रो ल्याउँछन् जस्तो लाग्छ,’ उनले भने।
अहिले राखेपले ४० दिने कार्ययोजना दिएको छ। यसलाई पहिलो चरणको पहिलो बन्द प्रशिक्षण भनिएको छ। सोहीअनुसार भलिबलका लागि पनि कार्ययोजना तयार भएको छ। तर पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरण लगातार हुने हो/होइन, पक्का भइसकेको छैन। यदि दोस्रो ‘फेज’को कार्यक्रम लगातार नहुने हो भने त्यसले अर्थ नराख्ने प्रशिक्षक भट्ट बताउँछन्।
‘यो कार्यक्रम सरकार र राखेपलाई दबाब नै हो किनभने बिनाकुनै लक्ष्य अभ्यास गर्नुभन्दा एसियाली खेलकुदलाई ध्यानमा राखेर अभ्यास गरिए राम्रो हुन्छ। एसियन गेम्स बारम्बार सर्ने कुरा हुँदैन। नयाँ मितिमा पक्कै हुन्छ। लामो समयसम्म अभ्यास गर्दा प्रस्तुति पनि राम्रो हुन्छ,’ उनले भने।
चीनमा यसै वर्ष आयोजना हुने भनिएको एसियाली खेल स्पर्धा स्थगन भए पनि नेपाली खेलाडीलाई विभिन्न खेल अभ्यासमा अभ्यस्त बनाउन थालिएको छ।
१० दिन लामो अभ्यास सकिएपछि खेलाडी सुनिता खड्का सन्तुष्ट सुनिन्छिन्। उनी लामो अभ्यास गर्न पाएपछि दंग छिन्। भन्छिन्, ‘एक साताभन्दा लामो अभ्यास भएको छ। पहिलो पटक यति लामो समयअघि अभ्यास गर्न पाएका छौं। यसले हामीलाई धेरै सहयोग गरेको छ। ढेड महिने अभ्यासमा सबै जानिएको हुँदैन। अहिलेको अभ्यासमा शारीरिकदेखि प्राविधिकसम्म सबैतिर सजिलो हुन्छ। सबै मिलेर अभ्यास गरिरहेका छौं।’
तर अभ्यासले मात्र सबै पूर्ण हुँदैैन। एसियाली खेलकुदबीच धेरै कुरा गर्न बाँकी छन्। त्यसैमध्येमा पर्छ, मैत्रीपूर्ण खेल र रेंकिङ सुधारको अवसर। प्रशिक्षक भट्ट भन्छन्, ‘बीचमा हामीले नजिकका देशसँग मिलेर मैत्रीपूर्ण खेलमा सहभागी बन्नु जरुरी छ। एउटा सहभागी देशसँग मिलेर राखेपले प्रतियोगिता आयोजना गर्नुपर्छ। मलाई लाग्छ, त्यसपछि मात्र यति लामो अभ्यास प्रक्रिया पूरा हुन्छ।’
एसियामा नेपालको ‘रेंकिङ’लाई सुधार्ने र दक्षिण एसियामा राम्रो नतिजा निकाल्ने नेपालको लक्ष्य हो। राखेपको यो कार्यक्रमले संघलाई पनि सहयोग गर्नेछ किनभने संघका पनि कार्यक्रम यसमै समेटिएका छन्।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि संघहरूकै मुख्य भूमिका रहन्छ। प्रशिक्षक भट्ट भलिबल संघका सचिवसमेत हुन्। संघले मैत्रीपूर्ण खेलका लागि गरेको पहल सम्बन्धमा भट्ट भन्छन्, ‘यो वर्षको एभीसीको क्यालेन्डरमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता छन्। यू–२३ का खेल छन्। महिला र पुरुषको सेन्ट्रल एसियन गेम्स रहेको छ। सागका देशहरूको गेम गर्ने भनेका छौं। नेपालमै गर्ने भनेर पारित पनि भइसकेको छ। त्यसले पनि एसियन गेम्समा धेरै प्रभाव पर्न सक्छ।’
यसबीचमा संघले २–४ वटा प्रतियोगिता आयोजना गर्ने र सहभागिता हुने भए प्रतियोगिता केन्द्रित अभ्यास हुन्छ। लामो समय अभ्यास गर्ने ट्रेनिङको मुख्य लक्ष्य रहेको उनको बुझाइ छ।
अब आउने प्रतियोगिता र मैत्रीपूर्ण खेलका लागि खेलाडी पनि इच्छुक देखिन्छन्। ‘अब मैत्रीपूर्ण खेल हुन्छ भन्नेमा हामी आशावादी छौं। सदस्यसचिव (टंकलाल) ले भन्नुभएको थियो, मैत्रीपूर्ण हून्छ भनेर,’ खलाडी सुनिताले भनिन्, ‘हामी मैत्रीपूर्ण खेल र बाहिर अभ्यासका लागि केन्द्रित हुन्छौं भन्नुभएको छ। यसमा सबै खेलाडी आशावादी छौं।’
नेपाल मात्र होइन, एसियाली खेलमा सहभागी हुने भएपछि बाँकी देशले पनि चार वर्षको अभ्यास गरेकै हुन्छन्। नेपाललाई प्रतिस्पर्धी सावित गर्न बाँकी देशले मिहिनेत गरिरहेककाले प्रशिक्षण निरन्तर होस् भन्ने चाहन्छन्, भट्ट।
‘नेपाली टिमले दुई/चार महिनाभन्दा धेरै अभ्यास गरेकै छैन। राष्ट्रिय टिमलाई लामो अभ्यास गराउनैपर्छ। एसियन गेम्स खेल्ने सबै देशले चार वर्षको अभ्यास गरिरहेकै हुन्छन्’, भट्ट भन्छन्। प्रशिक्षकको दृष्टिकोणमा लामो अभ्यास राम्रै भए पनि निरन्तर हुनेमा शंका गर्ने प्रशस्त ठाउँ भने रहेको प्रशिक्षक भट्ट सुनाउँछन्।
लामो अभ्याससँगै मोफसलका विभिन्न स्थानमा भलिबल प्रतियोगिता पनि भइरहेका हुन्छन्। यस्तोमा राष्ट्रिय टिमका खेलाडीको उल्लेख्य सहभागिता रहने गर्छ। स्थानीय आयोजकले पनि राष्ट्रिय टिमका खेलाडीलाई खेलाउन त्यस्ता प्रतियोगिता आयोजना गरेका हुन्छन् भने खेलाडीको आयस्रोतमा त्यसले टेवा पुर्याइरहेको हुन्छ।
तर बन्द प्रशिक्षणमा परेपछि त्यस्ता प्रतियोगिताका हुने छुटबारे प्रशिक्षक भट्ट भन्छन्, ‘बन्द प्रशिक्षणमा रहेका खेलाडी मोफसलमा हुने खेलमा खासै सहभागी नहोलान्। किनभने, त्यहाँ खेल्ने र अभ्यास गर्ने शैली फरक फरक हुन्छ। यहाँ ‘लो’ अभ्यास भएका बेला वा फिजिकल फिटनेसको अभ्यास भइरहेको अवस्थामा खेल्दा चोट लाग्ने हुन सक्छ। त्यसले प्रदर्शन राम्रो हुँदैन।’
अन्य बेला नेपाली टिमको बन्द प्रशिक्षण खेल प्रतियोगिता हुनुअघि एक डेढ महिना अघिबाट मात्रै सुरु हुने गरेको थियो। तर यो वर्ष एसियाली प्रतियोगिताको मिति टुंगो नलाग्दै बन्द प्रशिक्षण सुरु भएको छ।
राष्ट्रिय टिमलाई प्रशिक्षणमै राखेर नयाँलाई मोफसलमा खेलाउन सके प्रतिस्पर्धा बढ्दै जाने उनको अनुभव छ। राष्ट्रिय टिमका खेलाडीलाई रिजर्भ राखेर अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र ध्यान दिनुपने उनी बताउँछन।’
सबैतिर राष्ट्रिय टिमकै खेलाडीले खेल्दा अरूले प्राथमिकता नपाउन सक्छन्। त्यसैले ‘ग्रासरुट’का खेलाडीलाई मोफसलमा खेलाएर राष्ट्रिय टिमलाई रिजर्भ राख्नुपर्ने भट्टको धारणा छ।
लामो अभ्यासले खेलाडीमा शारीरिक मात्र नभई मानसिक रूपमा पनि परिवर्तन ल्याउँछ। प्रशिक्षक भट्ट भन्छन्, ‘अभ्यासमा प्रेरणात्मक कक्षाहरू पनि सञ्चालन हुन्छन्। बीचबीचमा मैत्रीपूर्ण खेल्ने अनि त्यो खेलमा देखिएका कमजोरीलाई सच्याउँदै वैदेशिक प्रक्षिणमा लग्ने। तलिका (भेन्यू) परिवर्तन गर्दै खेल्न सके त्यसले मोटिभेसन मिल्छ।’
लगातार एकै प्रकारका गतिविधि भए त्यसले खेलाडीको मनोविज्ञानमा असर पर्न सक्छ। नकारात्मक प्रभाव पार्छ। जब खेलाडी ‘फिट’ र ‘टेक्निकल्ली साउन्ड’ भएजस्तो लाग्छ, त्यतिबेला खेलमा लैजानुपर्ने प्रशिक्षक बताउँछन्।
‘कार्यक्रम तालिकाअनुसार अघिअघि लाग्यो भने नतिजामुखी हुन्छ। मैत्रीपूर्ण खेल्ने अनि कमजोरी सुधार ग¥यो भने टिम आफैं मथि आउँछ। एसियाली खेलकुदको दुई महिनाअघिबाटै हामीले लगातार खेलिरहनुपर्छ। बल्ल राम्रो हुन्छ,’ प्रशिक्षक भट्ट भन्छन्।
प्रशिक्षकले भनेजस्तो विदेशमा अभ्यासको अवसर धेरै नेपाली खेलाडीले पाउँदैनन्। अहिले पनि अरुणा शाही विदेशमा अभ्यास गरेर फर्किने क्रममा छन्। उनको अभ्यासले पनि बाँकी खेलाडीलाई ऊर्जा दिएको छ।
नेपालको भन्दा राम्रो र्याङकिङ भएका देशमा त्यहाँका खेलाडीसँग अभ्यास गर्न पाउनुले गतिलो प्रतिफल दिन्छ। त्यसले अझै राम्रो गर्ने प्रेरणा दिन्छ। उनले त्यहाँबाट फर्किएपछि आफ्ना साथीहरूलाई अनुभव बाँड्नेमा राष्ट्रिय टिमका खेलाडी विश्वस्त छन्।
‘अरुणाको प्रशिक्षण हामीलाई ‘प्लस प्वाइन्ट हो। बाँकी दुई खेलाडी पनि प्रतियोगिताका लागि मालदिभ्स गएका छन्। यसले पनि बाँकी खेलाडीलाई हौसला मिलेको छ। भलिबलमा केही छ भन्ने लागेकै कारण थप प्रेरणा मिल्छ,’ खेलाडी सुनिताले भनिन्।
बन्द प्रशिक्षण लामो समयका लागि भए पनि ४० दिनमा पहिलो चरणको छनोट हुने भनिएको छ। तर यो केही छिटो भएको र खेलाडी पनि थोरै भएको प्र्रशिक्षक भट्ट बताउँछन्। उनले भने, ‘जति धेरै समय भयो, त्यति धेरै सहभागिता हुनुपर्छ। हामीसँग २४ देखि ३० जनासम्म खेलाडी हुनुपर्ने हो तर थोरै छन्। यसबाट तीन÷चार जना छान्दा पनि २० खेलाडी रहनुपर्छ। लामो अभ्यास हुँदा प्रतिस्पर्धाको स्तर पनि धेरै हुनुपर्छ।’
धेरै खलाडी भएपछि टिममा पर्न मिहिनेत गर्नुपर्छ। टिममा प्रतिस्पर्धा बढ्दा मात्र खेलाडीले राम्रो अभ्यास गर्छन्। सुरुमै टिम पक्का भए खेलाडीले अभ्यास कम गर्ने सम्भावना रहिरहन्छ।
यसको कारण टिममा पक्कै पर्छु भन्ने लाग्यो भने खेलाडीले राम्रोसँग अभ्यास गर्दैनन्। ‘अहिले राष्ट्रिय टिममा अटाउन गाह्रो छ। प्रतिस्पर्धा बढेको छ,’ सुनिताले आफ्नो अनुभव सुनाइन्।
अहिले राखेपले सञ्चालन गरिरहेको प्रशिक्षण शिविरमा भलिबलले यस्तै प्रतिस्पर्धात्मक बाटो आपनाउने प्रशिक्षक भट्ट सुनाउँछन्। तर राखेपलाई दिइएको गुरुयोजना पूरा गर्न सके मात्र टिम माथि आउने उनको तर्क छ। ‘अहिले हामी आशावादी मात्र हो । सीमित स्रोत–साधनबाट लगातार अभ्यास गरिरहेको अवस्था हो,’ उनले भने, ‘अब खेलाडीको सेवा–सुविधालाई पनि बढाउँदै लग्ने र अभ्यासलाई वैज्ञानिक तवरले अघि बढाउन सके राम्रो हुन्छ।’
राखेपमा बजेट जति विनियोजन भएको छ, त्यो खेलाडीमा खर्चिनुपर्ने उनको भनाइ छ। सरकारले खेल क्षेत्रलाई दिने रकम अत्यन्त न्यून छ। त्यो रकमको विशेष भाग खेल पूर्वाधारमा पनि खर्चिनुपर्छ। ‘पूर्वाधारको नाममा धेरै रकम विनियोजन गरेसँगै खेलाडीको प्रशिक्षण र प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणमा पनि लैजाने गर्नुपर्छ,’ उनले भने।
आफ्नो लक्ष्य एसियाली खेलकुदमा मेडल ल्याउने लक्ष्यअनुसार नै अगाडि बढिरहेको उनको दाबी छ । यसका लागि नेपाली महिला टिमले आशा पनि देखाएको छ किनभने नेपाले यसअघि नै दुई पटक सेन्ट्रल जोनको उपाधि चुमिसकेको छ। यसले आउँदा प्रतिस्पर्धामा जित निकाल्न दबाब दिएको छ।
‘हामीले धेरै मिहिनेत गरिरहेका छौं। लामो समयसम्म अभ्यास भएकाले धेरै सिक्न सक्छौं। आशावादी पनि छौं। प्रशिक्षकले पनि राम्रो गरिरहनुभएको छ,’ खेलाडी सुनिता भन्छिन्, ‘हाम्रो काँधमा जिम्मेवारी छ। हामीले अझै धेरै गरेर देखाउनु छ।’