आइतबार, जेठ ६, २०८१

एन्फामा पंकजको जितका 'फ्याक्टर'

तुलनात्मक रुपमा हेभिवेट उम्मेद्वारको बाहुल्यता रहेको कर्मा पक्षमा निष्पक्ष रहेका विभागीय तीन क्लब र एन्फाको संघको भोट आउने विश्वास गरिएको थियो। यद्यपि उनको जितका लागि ती भोट पर्याप्त देखिएनन्। उनले ३९ भोट प्राप्त गरे।
 |  मंगलबार, असार ७, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असार ७, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) मा दोस्रो वरीयताको पदाधिकारी चुनिएको एक वर्षमै वरिष्ठ उपाध्यक्ष मनोनित भएका पंकज विक्रम नेम्वाङ सोमबार सम्पन्‍न निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका छन्। २०७५ वैशाख १२ सम्पन्‍न एन्फाको १६औं साधारणसभाबाट दोस्रो वरीयताका पदाधिकारी बनेका नेम्वाङ ०७६ वैशाख ३१ गते वरिष्ठ उपाध्यक्षमा मानेनित भए। 

triton college

विस २०७६ साल माघ १६ गते एन्फाको कार्यसमितिको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेपछि एन्फा दुई धुव्रमा विभाजित भयो। उनलाई गणेश थापा स्कुलिङबाट एन्फाको राजनीति सिकेका वीर बहादुर खड्का सँगसँगै दावा लामा र कृष्ण थापाले साथ दिए। नयाँ ध्रुव बन्‍ने सुरुआती दिनमा पंकजले एन्फाका विभिन्‍न निर्णयहरुको आफ्नो ९ बुँदे फरक मत राखेका थिए। लिग प्रायोजकको सम्झौता, महिला एकडेमीको ठेक्का, विदेशी सहयोग, क्लब लाइसेन्सिङ, स्वास्थ्य उपचार र पदपूर्तिलगायत विषयमा उनले असहमति जनाएका थिए।

ती सबै कुरालाई 'अपरारदर्शीताको शृंखला' नाम दिँदै उनले एन्फामा नयाँ धारको राजनीतिक बाटो निर्माण गरे। २०७६ असोजमा नेपाली यू-१६ को बन्द प्रशिक्षण भइरहेको थियो। जोर्डनमा भएको एएफसी च्याम्पियनसिप छनोटमा त्यो टिम इरान गएर खेल्ने योजना थियो। तर, अन्तिम टोली सार्वजनिक गर्ने क्रममा तेस्रो वरीयताका गोलकिपर टिममा राखियो। ती गोलकिपर पंकजकै छोरा थिए।

सोमबार भएको निर्वाचनमा पंकजको प्यानल नै विजयी भयो। पंकजको जितमा धेरै कुराले सकारात्मक भूमिका खेलेको छ। 

पूर्वको एकीरकण

corrent noodles
Metro Mart

झापाका नेम्बाङलाई जिताउनका लागि पूर्वका सबै जिल्लाहरुले सामूहिक विज्ञप्ति निकालेर एकीरणको घोषणा नै गरेका थिए। फुटबलमा जतिबेला संकट देखापर्छ, त्यो समयमा पूर्वी फुटबल संघ एक ढिक्का भएर उभिने गरेको छ। पंकजको सबैभन्दा ठूलो शक्ति यो नै रह्यो।

त्यसो त जित निकालेपछि वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका वीर बहादुर खड्काले आफ्नो इमानदारिता नै मूख्य कडी भएको बताएका छन्। ‘जितको आधार भनेको हामीसँग इमानदारिता थियो, मिहनत थियो। हामीले विधान र विधिको कुरा गरेका छौं,’ जितपछि उनले भने।

तर उनले भनेजस्तो एन्फामा इमानदारीताले मात्र चाहिँ काम गरेको छैन। आफ्नो ठाउँको प्रतिनिधि अध्यक्ष हुने भएपछि पूर्वले उनलाई साथ दिएको छ। विषेशत: उनले झापा स्पोर्ट्स अवार्डलाई ठूलो सहयोग गर्दै आइरहेका छन्। झापाका विभिन्‍न क्लबहरुलाई उनले फुटबल र खेल सामग्री वितरण गर्दै आइरहेका छन्।

दशकयता झापाले फुटबलका अभिभावाक माने मध्येका एक हुन्, पंकज। उनले अध्यक्षमा उम्मेद्‌वारी दिने घोषणा गरेसँगै एन्फाको चुनाव पनि नजिकिँदै थियो। जिल्लाको साधारण सभाका दौरान उनीहरुले त्यो घोषणा गरेका थिए।

‘युवा खेलकुद, विशेष गरी फुटबलमा युवा अघि सर्नु पर्छ भनेर झापा जिल्ला खेलकुद समितिबाट आफ्नो फुटबलप्रतिको मायालाई सेवा भावले अगाडि बढाउन पंकज दाई नेतृत्व प्रवेश गर्नु भएको हो,’ झापमा पंकजबारे एक स्थानीयले भने, ‘जिल्लादेखि नेपालभरीका दुर्गम ठाउँमा खेलकुदका सामग्री वितरण गर्न पछि पर्नु हुँदैन। आफ्नै ठाउँको रोलिङ क्लबदेखि मेची क्याम्पस, स-साना गाउँका स्कुलसमेत लाई खेलकुद सामग्री दिने गरेका छन्।’

अलमुताइरी र एनएसएल फ्याक्टर

एसिया कप छनोटका लागि नेपाली सिनियर फुटबल टिमको बन्द प्रशिक्षणमा बोलाइएको ११ सिनियर खेलाडी केही समयअघि बाहिरिए। उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणबाट बाहिर जान भनेका थिए। खेलाडीले बहिर आएर आफू प्रशिक्षकबाट पीडित भएको बताए। त्यो समयमा एन्फा नेतृत्वले केही बोल्ड डिसिजन लिने त होइन? भन्‍ने प्रश्‍नहरु उठेका पनि कारबाही भएन। 

एन्फामा अलमुताइरी त्यसअघि नै विवादमा आएका थिए। त्यतिबेला पंकज र अलमुताइरीबीच नै बुझाइमा तालमेल नभएपछि विवादको अवस्था सिर्जना भएको थियो। रंगशालाबाहिर चुरोट काण्ड भएपछि अलमुताइरीले फेसबुकबाटै पंकज नेम्बाङलाई दोषि देखाएर राजीनामाको घोषणा गरे।

‘आश्चर्यजनक रुपमा यो कुरा किन आयो? मलाई विश्वास छ- एन्फाले यस विषयमा छानबिन समिति गठन गर्छ। दोषी देखिए कारबाही भोग्‍न तयार छु। निराधाररुपमा षड्यन्त्रपूर्वक हेड कोचको विज्ञप्ति आएको छ,’ पंकजले भनेका थिए, ‘सबै फुटबलप्रेमीले बुझिदिनुस्। राम्रो र सत्यका पक्षमा वकालत गर्दै आएको व्यक्ति हो। यो ममाथिको षड्यन्त्र हो।’ पछि सम्झौता पनि भयो। त्यो विवादको समाधान कतारको एम्बेसीमा नै भइसके पनि पछि राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले छानबिन गर्‍यो ।

छानबिन प्रतिवेदनले अलमुतारीलाई आफ्नो व्यवहारमा सुधार गर्न सुझाव दियो। त्यसपछि पंकज र अलमुताइरीबीच सम्बन्ध राम्रै रहे पनि बाहिरी बुझाई चाहिँ उनीहरु नमिलेको भन्ने नै रह्यो। तर, जब खेलाडी र प्रशिक्षकको विवाद देखियो। त्यो विवादबारे एन्फाको कार्यसमिति बेखबरजस्तै भयो। आफ्ना खेलाडीलाई एन्फाले बेवास्ता गर्दा क्लबलाई पनि चित्त नबुझेको हुँदो हो। यसकारण पनि केही क्लब र त्यो क्लबको निकटमा रहेकाले कर्माको साथ छोडे।

विजयीपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ। 

एक वर्षअघि नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल आयोजना भयो। यो आयोजना हुनुमा कर्मा छिरिङको पहल कम थिएन। फ्रेन्चाइज क्लबले सबै ए डिभिजनका खेलाडी लिएर खेल्यो। तर, आफूले उत्पादन गरेर बजारमा चिनाएको खलाडी आफूलाई चाहिएको समयमा उपलब्ध नभएपछि ए डिभिजनका क्लबहरुले ध्यानाकर्षण भएको बताए। एनएसएलले जबरजस्ती अक्सन आयोजना गर्यो।

ए डिभिजनका क्लब रुष्ट भएर पत्रकार सम्मेलन गरे। र, आफ्नो आक्रोश पोखे। त्यति गर्दा पनि एन्फा बोलेन। त्यसैले पनि केहि क्लबले संस्थापन(कर्मा) को साथ छोडे। अहिले एनएसएल हुने वा नहुनेमा दोधार छ। त्यस विषयमा ढुलमुले प्रवृत्ति देखिएपछि एनएसएल मन पराउने वा मन नपराउने दुवैलाई एन्फाको कार्यशैली चित्त बुझाएनन्। यस्तोमा ‘खेलाडीको मुद्दालाई हामी मजाले समाधान गर्छौं’ भनेपछि एन्फाका संघहरुले पनि पंकजलाई समर्थन गर्न पुग्यो।

गणेश थापाको प्रभाव

चेन्ज एन्फाको आन्दोलन चलाउने अहिले पनि कतिपयले भनिरहेका छन् कि नेपाली फुटबलबाट गणेश थापाको पत्तासाप भइसकेको छ। तर अहिलेको चुनावले त्यो कुरा सावित गर्दैन। पंकजले कर्मा छिरिङ शेर्पाबाट रुष्ट जो कोहीलाई पनि आफ्नो प्यानलमा समावेश गरेका छन्। एन्फाका निवर्तनमा अध्यक्षयबाट सबैभन्दा चिढिएको कोहि छ भने त्यो गणेश थापा नै हुन्। उनी प्रतिबन्धमा परेपछि चेन्ज एन्फाको नाार लिएर आउने हर्ताकर्ता पनि कर्मा र पंकज नै थिए।

तर कर्माविरुद्धको आन्दोलन थालेपछि पंकज पुनः गणेश थापासँगै मिल्न पुगे। ‘उहाँहरु पहिलो चेन्ज एन्फाको नाममा जोविरुद्ध आन्दोलन गरेको छ अहिले त्यहीसँग मिल्न जानु भएको छ। यसरी पनि फुटबलको विकास होला त?,’ गणेश थापासँग मिलेको आरोप लगाउँदै कर्मा प्यानलका इन्द्रमानले भनेका थिए।

फिफाको प्रतिबन्धमा परेर आउन नमिल्ने भए पनि गणेश थापा अप्रत्यक्ष रुपले एन्फा चुनावमै थिए। उनले छोरा गौरवलाई चुनावको रिपोर्टिङ गर्न पठाए। गौरवले हर कुराको सूचना गणेश थापालाई पठाइरहेका थिए। थापाका निकट रहेका वरिष्ठ उपाध्यक्षमा निर्वाचित वीरबहादुरमार्फत कर्माविरुद्धको अभियान चलाएका थिए। दुई महिनाअघि पत्रकार सम्मेलन नै गरेर कर्मा छिरिङविरुद्ध अभियान थाल्ने घोषणा गरेको थिए। 

फुटबलबाट प्रतिबन्ध भोगेका थापाले पत्रकार सम्मेलन गरेपछि फिफाले उनलाई चेतावनी पनि पठाएको थियो। यद्यपि उनको ध्यान कर्मालाई हटाउनेमै केन्द्रित रह्यो। 

यी देखिने फ्याक्टर सँगसँगै एन्फामा पंकजको जितको अर्को कारण भनेको उनको व्यक्तिगत सम्बन्ध हो। एन्फामा सीमित मतदाता हुने भएकोले व्यक्तिगत प्रभाव पार्न सकिन्छ। काठमाडौंमा प्रतिनिधिको खानपान र बसाइमै ठूलो खर्च गरेका उनीहरुले सम्बन्ध विस्तारमै पनि खर्च गरेको अनुमान गर्न सकिन्छ। 

केही समयकै भेटघाटले पनि प्रभाव पार्ने भएपछि पंकज पक्षका प्रतिनिधिलाई त साधारण सभामा पनि ढिलो गरेर मात्र उपस्थित गराइएको थियो। त्यसमाथि चुनावको अघिल्लो रात नै किरण राईले पंकजको पक्षमा ४६ मत रहेको भन्दै फोटा नै सार्वजनिक गरेका थिए। अन्तिममा पंकजले ४५ मत ल्याए। उपस्थित ४६ मध्ये एक जनाले धोका दिएको पंकज पक्षको आरोप छ। चुनावको अघिल्लो रातसम्म कर्मा पक्षले पनि आफ्नो हात ४० भन्दा धेरै मत रहेको बताइसकेको थियो।

तुलनात्मक रुपमा हेभिवेट उम्मेद्वारको बाहुल्यता रहेको कर्मा पक्षमा निष्पक्ष रहेका विभागीय तीन क्लब र एन्फाको संघको भोट आउने विश्वास गरिएको थियो। यद्यपि उनको जितका लागि ती भोट पर्याप्त देखिएनन्। उनले ३९ भोट प्राप्त गरे।

कर्माले हारे पनि उनको  प्यानलबाट उम्मेदवारी दिएका कुमार केसी (उपाध्यक्ष)साथै सदस्यहरु मनिश जोशी, भरत बुढ थापा, रमेश बेन्जनकार, टिका राम लामा, मणिराज बिष्ट र महिला सदस्यमा पेमा डोल्मा लामा कार्यसमितिमै रहने छन्। अब एन्फाको प्रतिपक्षमा आफ्नो दरो उपस्थिति हुने कर्मा निकटको बुझाइ छ। 

पंकजको पृष्ठभूमि

अन्य विभिन्‍न सार्वजनिक संस्थाहरुमा जस्तै एन्फामा पनि राजनीतिक प्रभाव रहेको छ। एन्फाको पदाधिकारीदेखि सदस्यसम्ममा अधिकांश कांग्रेस निकट व्यक्तिहरु छन्। जसका कारण एन्फामा पनि गुटगत राजनीति हाबी छ। त्यसैले पनि एन्फामा किचलो हुने गरेको छ।  

कर्माछिरिङ कांग्रेसको संस्थापन इतर समूहका हुन्। उनी कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट मानिन्छन्। तर, नेम्वाङ र वीरबहादुर देउवा निकट नेता मोहनबहादुर बस्नेत नेतृत्वको कांग्रेसको खेलकुद विभागका सदस्य हुन्। 

५१ वर्षे पंकजले एन्फासँगै सत्तारुढ दल नेपाली कांग्रेसको निकट मानिन्छन्। नेम्वाङ कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय सदस्य समेत हुन्। यस्तै नेम्वाङ कांग्रेसको खेलकुद विभागका सदस्य समेत हुन्।

कांग्रेको गुटको असर पनि एन्फामा देखिने गरेको छ। त्यसैले त आफूले अध्यक्षको कुर्सी छोड्दै गर्दा कर्माले भनेका छन, ‘म फुटबलमा त रहने नै छु। तर यो फोहोरी राजनीतिबाट टाढिएको छु।’

नेम्बाङको कांग्रेससँगको सम्बन्ध ढिलो सुरु भएको होला। तर उनको फुटबलसँगको प्रेम भने बच्चैदेखिको हो। त्यसो त पूर्वका केही जिल्लामा फुटबलको क्रेज धेरै पाइन्छ। जुन उनमा पनि बढ्दै गयो। उनी अहिले पनि झापाको प्रतिनिधित्व गरिरहेका छन्।

नेपाली सिनियर टिममा पनि झापाका थुप्रै खेलाडी छन्। त्यहाँ झापाका खेलाडी आउनेजाने पनि त भइरहन्छ। विसं २०२८ सालमा स्थापित रोलिङ क्लबमा नेम्बाङ परिवारको ठूलो योगदान रहेको झापाको फुटबल जानकारहरु बताउँछन्। रोलिङले पञ्चायत कालदेखि नै फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। अहिले पनि स्थानीय प्रतियोगिता अयोजना गर्दै आइरहेको रोलिङको फेसबुक पेजले देखाउँछ। 

बाबुहरुको त्यो कार्य छोरा पुस्तामा पनि सरेको कारण नै अहिले यो क्लबले निरन्तरता पाएको हो। पंकजका भाई आकाशविक्रम नेम्बाङले राष्ट्रिय टिमबाट समेत खेलेका थिए। उनका दाइहरू पनि क्लबस्तरका खेलाडी हुन्।

सुरुवाती दिनहरुमा पंकजले पनि फुटबलमा धेरै समय बिताए पनि सम्झनलायका उपलब्धि भने हासिल गर्न सकेनन्। क्लबको सिनियर टिममा पर्न सकेनन्। त्यसैले उनले खेलको व्यवस्थापन रोजे। रोलिङ क्लबको सदस्य बने। विस्तारै उनी अध्यक्षसम्म पुगेर तीन कार्यकाल बिताए। त्यही क्लबबाट प्रतिनिधि भएर उनी झापा जिल्ला फुटबल संघसम्म पुगे। जिल्लाबाट केन्द्रीय फुटबल राजनीतिमा छिर्ने क्रममा सन् २००२ तिर एन्फाको केन्द्रीय सदस्य बनेका थिए।

जतिबेला उनी एन्फामा प्रवेश गरेका थिए। यतिबेले फुटबल संघ अहिलेको जस्तो सामान्य थिएन। संघ नै विभाजित थियो। उनी सदस्य रहँदा अध्यक्ष गणेश थापा नै थिए। तर गीता राणाको अध्यक्षमा राखेपमा अर्को फुटबल संघ पनि दर्ता भएको थियो। कर्मा त्यस समय गीता राणको पक्ष रहेर कार्यवाहक सम्हाले।

तर यी दुई संघहरुको विवाद मिल्यो। केहि पदाधिकारीले जागिर पाएपछि विवाद मिलेको थियो। २०७१ सालपछि नेम्बाङ थापाको आन्दोलनमा जुटे। एन्फामा चेन्ज एन्फा र शुद्धिकरणको लहर नै चलेको थियो। थापाले एन्फाभित्र अनियमितता भएको भन्दै आवाज उठाउँदा नेम्बाङसहितका व्यक्तिले देशव्यापी आन्दोलन चलाए।

त्यसपछि उनी कर्मा छिरिङ शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष बने। उनको 'नोट अफ डिसेन्ट' पछि एन्फामा पुन: ध्रुवीकरण सुरु भएको थियो। पंकजले भन्दै आएको छन्, 'सबैलाई समेटेर लैजानुपर्छ र एन्फामा पारदर्शीता हुनुपर्छ।' उनले पहिलो कार्यसमितिको बैठकबाटै खेलाडी र प्रशिक्षाबीच देखिएको विवाद मिलाउने बताएका छन्। खेलाडीलाई मर्का नपर्ने गरी विवाद मिलाउने उनको दाबी छ।

उनले भने, ‘छानबिन समितिको प्रतिवेदन हेरेर छलफल गर्नेछौँ। र, सबै पक्षसँग छलफल गरेर अघि बढ्नेछौँ।’ त्यस्तै, उनले अब एन्फाको सम्बन्ध सुधारमा पनि अघि बढ्ने बताएका छन्।

उनले भने, ‘तत्कालको योजना एन्फा र जिल्लाको सम्बन्ध, एन्फा र क्लबको सम्बन्ध राम्रो छैन। हामीले एएफसी र फिफासँगको सम्बन्धका पनि सुधार गर्दै जानु पर्छ। सबै एकजुट गरेर अघि बढ्नु पर्छ।’

उनले आफ्नो पालामा साफ च्याम्पियनसिप जित्‍ने दाबी गरेका छन्। भने, ‘हाम्रो कार्यकालको लक्ष्य भनेको नेपाललाई साफ जिताउने नै हो। ग्रासरुट र महिलाका कार्यक्रम सुधार हुन्छ। हामी लिगलाई व्यवस्थित बनाउँछौँ। राष्ट्रिय लिग सुरु गछौं।’

उनले राष्ट्रिय लिग सुरु गर्ने दाबी गरे पनि त्यो नेपाली फुटबलका सबैभन्दा झन्झटिलो काम रहेको एन्फाकै कर्मचारीहरुले बताउँदै आएका छन्। लिग खेल्ने र बाहिरका खेलाडी मिलाएर एन्फा प्रेसिडेन्ट लिग खेलाइएको हुँदा त्यो झन्झटिलो भएको हो।

उनले नेपाल सुपर लिगबीच विवाद भइरहेको लिगसँग भएको सम्झौता हेरेर अघि बढ्ने बताएका छन्। पंकजको टिमले एन्फामा आर्थिक अनियमितता भएको र रकम अपचलन भएको साथै पारदर्शीता नरहेको पनि बताउँदै आएका छन्। उनले अब आउँदा दिनमा श्वेतपत्र जारी गर्ने र भएको कमी कमजोरीको छानबिन गर्ने बताएका छन्। 

प्रकाशित: Jun 21, 2022| 19:48 मंगलबार, असार ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।