काठमाडौं– सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो। विदेशीलाई नेपालको झझल्को दिने ऐनाका रूपमा पनि काठमाडौं विमानस्थललाई लिइन्छ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७० वर्षभन्दा बढी लामो समयपछि मुलुकभित्र अर्को भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल करिब निर्माण सम्पन्न भई शीघ्र सञ्चालनको तयारीमा छ। हाल देशभित्र तीन अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। यी विमानस्थल विदेशी नागरिक प्रवेश गर्ने पहिलो ढोका हुन्।
विमानस्थलको सेवा–सुविधा भौतिक पूर्वाधारको अवस्थाले नेपाल झल्काउने भएकाले तिनको सेवा सुदृढीकरण र आधुनिक पूर्वाधार एवं प्रविधिमैत्री बनाउन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालय लागिपरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन–कुन देशमा कति एयरलाइन्सले उडान भर्छन् भन्ने चासोको विषय बन्न सक्छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोभिडपछि अन्तर्राष्ट्रियतर्फ ७० उडान भइरहेका छन्।
आन्तरिकतर्फ कोभिडपूर्वकै अवस्था अर्थात् करिब शतप्रतिशत उडान भइरहेको छ। अन्तर्राष्ट्रिय स्तरमा अहिले दैनिक सरदर दुईतर्फी ६० उडान हुँदै आएका छन्। यो संख्या मौसम सामान्य अवस्थामा भएका बेला उडान व्यवस्थापनमा सहज हुने तर अहिले मनसुन सिजन भएकाले विमानस्थलमा बढी उडान चाप हुने गरेको प्रवक्ता सिटौलाको भनाइ छ।
विमानस्थलबाट थाई स्माइल एयरले छिट्टै उडान भर्दै छ। कोभिडपछि चिनियाँ जहाजले काठमाडौं विमानस्थलमा नियमित ‘सेडुअल’ उडान गरेका छैनन्। अहिले चार्टर्ड उडान मात्रै भइरहेको छ।
कुल ९२ लाख यात्रु क्षमताको टिआईएमा सबै एयरलाइन्सले पूर्ण क्षमतामा उडान गरेकाले विमानस्थल साँघुरो हुने अधिकारी बताउँछन्। त्यसैले काठमाडौं विमानस्थलको विकल्पका रूपमा भैरहवा विमानस्थललाई सञ्चालन गर्ने प्राधिकरणको नीति छ।
पोखरा विमानस्थल पनि सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ। कोभिड महामारीपूर्व नेपालका तीनसहित ३० देशका एयरलाइन्सले उडान भर्दै आएका थिए। यो विमानस्थलमा आन्तरिकतर्फ हाल ११ हेलिकोप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन्।
नागरिक उड्डयन प्राधिकरणका अनुसार दुई नेपालीसहित १९ देशका ३४ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। यीमध्ये नेपालसहित १९ देशका २४ एयरलाइन्सले सम्बन्धित मुलुकमा सीधा हवाई उडान गरिरहेका छन्।
सबैभन्दा बढी चीनका चार, नेपाल र भारतका समान दुई एयरलाइन्सले उडान भर्दै आएका छन्। चीनको एयर चाइना, सिचुवान एयर, चाइना इस्ट्रन, चाइना साउदर्नले उडान गरिरहेका छन् भने भारतको एयर इन्डिया र इन्डिगो एयरले उडान भर्दै आएका छन्।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हाल भारतका तीनसहित आठ देशका १० गन्तव्यमा उडान भर्दै आएको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले विभिन्न ६ देशका ६ गन्तव्यमा उडान भर्दै आएको छ।
एयर अरेबिया अबुधाबी र एयर अरेबिया शारजहाँले उडान भर्दै आएका छन्। त्यस्तै, जजिरा एयर, कोरियन एयर, मालिन्दो एयर, मलेसिया एयर, कतार एयरवेज, सलाम एयर, सिंगापुर एयर, श्रीलंकन एयरलाइन्स, टर्किस एयरलाइन्सले उडान भरिरहेका छन्।
त्यसैगरी विमान बंगलादेश, क्याथी प्यासिफिक एयरवेज, ड्रक एयरलाइन्स र फ्लाई दुबईले काठमाडौं विमानस्थल भएर उडान गरिरहेका छन्।
एक महिनाअघि व्यावसायिक सञ्चालनमा आएको भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरले उडान गरिरहेको छ। उक्त विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाएका छन्।
नेपालले हाल ४० मुलुकसँग हवाइसेवा सम्झौता गरिसकेको छ। पछिल्लो पटक सन् २०१९ मा अस्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो। टिआईएमा विभिन्न १० हेलिकोप्टर कम्पनी छन् ।