काठमाडौं- पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन्। सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत १० करोडसम्मको काम श्रम सहकारीमार्फत गर्न सकिने व्यवस्था गरेको छ। सोको कार्याविधि पनि बन्दै गरेको अर्थमन्त्रालयले जनाएको छ।
सहकारीले कहिल्यै पनि श्रम, ज्याला र ठेक्कामा काम नगर्ने दाबी गर्दै ठेक्कामा काम गर्ने सहकारी मिनि ठेकेदार मात्र भएको उनको दाबी थियो।
सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने भन्दै उनले भने, ‘श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरीत हुन्छ।’
जिल्ला सहकारी संघ, काभ्रेपलाञ्चोकको आयोजनामा सुरु भएको व्यवस्थापन प्रमुखहरुको जिल्लास्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले श्रमिक वर्ग एकआपसमा मिलेर पूँजी निर्माण गरी आयआर्जनको काम गरे मात्र त्यो श्रम सहकारी हुने बताए।
यसका लागि अरु कुनै नाम दिइराख्न नपर्ने उनको भनाई थियो। सहकारीले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्न सकिने उनको भनाइ छ। त्यस्तै उनले वर्तमान तरलता संकटको समस्या तत्काल समाधान नहुने उनले उल्लेख गरे। अस्वभाविक क्षेत्रमा लगानी बढेको हुँदा तरलता समस्या आएको भन्दै उनले त्यसलाई रोक्नुपर्ने बताए। उनले पूँजीगत पलायन, हुण्डी कारोबार एवं व्यापारमा हुने विचलनलाई रोक्न नसके तरलता समस्या हल नहुने पनि दाबी गरे।
अहिले प्रणालीमा नै समस्या रहेकाले बैंक, वित्त र सहकारी संस्थामा एउटै समस्या आएको छ। उनले थपे, ‘कोरोनालाई मात्र जोडेर तरलता समस्याको विश्लेषण गर्न नमिल्ने भन्दै विवेकपूर्ण तरिकाले लगानी नगर्दा समस्या आएको हो।’