काठमाडौं–अमेरिकाको म्यारिल्यान्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२ आउँदो जुन २३ देखि २६ सम्म भौतिक र भर्चुअलबाट हुने भएको छ । महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा चलचित्र प्रदर्शन हुने आयोजकले जानकारी गराएका छन्।
महोत्सव उद्घाटन जुन २३ बिहीबार साँझ पुरानो ग्रिन्बेल्ट थियटरमा विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र हल्कराको भौतिक प्रदर्शनबाट हुनेछ। चलचित्र महोत्सवको समापन जुन २६ तारिख आइतबार साँझ निर्देशक माइकल ब्राउनको वृत्तचित्र वृक म्युलु र एरिक स्पिंकको लघु चलचित्र द लिप रिडरबाट सोही थियटरमा भौतिक रूपमै हुने बताइएको छ।
भौतिक प्रदर्शनीबाहेक महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्यापटप र स्मार्ट टेलिभिजनमा इवेनटिभी एपमार्फत चलचित्र हेर्न सकिनेछ। विगत वर्षजस्तै ग्लोबल पिस फिल्म फेस्टिबलको सहकार्यमा दुई चलचित्र प्रदर्शन हुनेछन् भने स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न डीएमभी (डी, मेरिल्यान्ड र भर्जिन्या) क्लोजअप प्रदर्शन गरिनेछ।
प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिनेछ। महोत्सवमा यस वर्षको कान्स फिल्म फेस्टिबलमा पुगेका निर्देशक अविनाशविक्रम शाह र अभिनेत्री सुरक्षा पन्तसँग पनि ‘भर्चुअल’ संवाद गरिने भएको छ। प्रतिस्पर्धाका लागि छानिएका उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिनेछ।
चलचित्र महोत्सव २०२२ का लागि सात जनाको निर्णायक मण्डल घोषणा गरिएको छ। निर्णायक मण्डलले उत्कृष्ट चलचित्र पुरस्कार घोषणा गर्नेछन्। नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब जुरीको रूपमा रहेका छन्। महोत्सवमा आवेदन परेका चलचित्रलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो।
सन् २०१७ देखि गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले निरन्तर यो चलचित्र महोत्सव आयोजना गर्दै आएको छ।