काठमाडौं– विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन्।
चितवनको रत्ननगर नगरपालिका–९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकल यात्री रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ।
गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारीसाधनले बिहान ५ बजे साइकल यात्री दराईलाई ठक्कर दिएको प्रहरीले बताएको छ। सवारीसाधनसहित फरार चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ।
यसैगरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनहरा चोकमा गए राती मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।
दुर्घटनामा परी मोटरसाइकल चालक ललितपुरको धापाखेलका २१ वर्षीय विजय श्रीमालीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका विजयको उपचारका क्रममा कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पतालमा मृत्यु भएको हो।
मोटरसाइकलमा सवार ललितपुर हात्तीवनका २२ वर्षीय रक्षक क्षेत्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा९८प ४२७० नम्बरको मोटरसाइकल गए राती १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरी वृत्त थिमिले बताएको छ।
यस्तै, रूपन्देहीको कञ्चना गाउँपालिका–४ बुद्धचोकस्थित लुम्बिनी फायर लाइन सडक खण्डमा शुक्रबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री गम्भीर घाइते भएका छन्। मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीय ठडबहादुर विक घाइते भएका प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकी करिब साढे ८ बजे रूपन्देहीको लुम्बिनी फायर लाइन सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको लु८प ७४७४ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो। मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय रुद्रपुर रूपन्देहीले बताएको छ।