काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गैरआवासीय नेपाली (एनआरएन) अभियानकर्मी रामकुमार सुवेदीलाई टेक्सस, अमेरिकाका लागि अवैतनिक पर्यटन दूतमा नियुक्त गरेको छ।
नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय यही जेठ १ गते (१५ जुन २०२२) को बैठकले उनलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो।
मन्त्रालयले सुवेदीलाई दिएको नियुक्तिपत्रमा नेपाली दूतावास, गैर आवासीय नेपाली संघ, पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका लागि योगदान पुर्याउने विश्वास गरिएको छ।
झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमतिपत्र सहित सपरिवार अमेरिका पुगेका थिए। उनी गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रीय उपसंयोजक समेत हुन्।