बुटवल- चुरे पहाडको पहिरो रोक्नका लागि बुटवलमा वृक्षारोपण गरिएको छ। बुटवलको ज्योतिनगरस्थित चुरे पहाडबाट पहिरो खसेको ठाउँमा पर्खाल लगाउनुका साथसाथै वृक्षारोपण गरिएको हो।
बिहीबार चुरे दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाको आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल र नेपाली सेनाको श्री गरुड दल गण रामनगर ब्यारेक बुटवलको सहकार्य र समन्वयमा बाँसका बिरुवा रोपिएको हो।
पहिरो रोकथामका लागि पर्खाल लगाइएको क्षेत्र आसपासमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाली सेनाका जवान र स्थानीय सहितको टोलीले बाँसका बिरुवा रोपेको हो।
बिरुवा रोपेपछि नगरप्रमुख पाण्डेले ज्योतिनगर क्षेत्रको पहिरो रोकथामका लागि पर्खाल लगाउने, पानीको बहाव परिवर्तन गर्ने र वृक्षारोपण गरिएको बताए। उनले पहिरोको जोखिम कम गर्न र दीर्घकालीन रूपमै समाधान गर्नका लागि बिरुवा रोप्ने र संरक्षण गर्ने काममा नगरले ध्यान दिएको बताए।
नगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले पहिरो नियन्त्रणका बुटवल उपमहानगरपालिकाले निरन्तर रोकथामका कार्यक्रम र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिरहेको बताए।
बुटवल उपमहानगरपालिका विपद् व्यवस्थापन महाशाखाका प्रमुख इन्जिनियर योगेश चापागाईंका अनुसार ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रमा भूक्षय नियन्त्रणका लागि ९ सय वटा बाँसका बिरुवा रोपिएको बताए। उनले बाँस छिटो हुर्किने र पहिरो रोक्नका लागि उपयोगी हुने भएकाले बाँसका बिरुवा रोपेको बताए।