काठमाडौं- न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका-९ की सोनाली कुमारी सिंह 'निहारिका' ले बिहीबार राति अनसन तोडेकी छन्।
सरकारसँग ५ बुँदे सहमति भएपछि निहारिकाले अनसन तोडेकी हुन्। राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर उनले अनसन तोडेकी हुन्।
प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ।
सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुवरले हस्ताक्षर गरेका छन्।