काठमाडौं- अमेरिकी सैन्य सहकार्य स्टेट पार्टनरसिप प्रोग्रामका विषयमा छलफल गर्न संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ। सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो।
समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन्। उनले भनिन्, 'एसपीपी कार्यक्रम २०१५ देखि सुरुवात भएको कुरा सार्वजनिक भएको छ। यसको आधिकारीक कुरा के हो? यसमा सेनाको धारणा के हो? सन् २०१५, २०१७ र २०१९ मा एसपीपीबारे के-के भएको हो भन्ने बुझ्नका लागि बोलाएका हौं।'
समितिको बैठक शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको छ। उक्त विषयमा छलफल गर्नका लागि रक्षा मन्त्रालयका सचिव किरणराज शर्मालाई पनि संसदीय समितिले पत्र पठाएको छ।
अमेरिकी सेनाका इण्डो-प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स फ्लिन आफ्नो चार दिने भ्रमण सकेर फर्किएको दोस्रो दिनमा नै एसपीपी सम्झौताको प्रस्तावित मस्यौदा भन्दै सार्वजनिक गरिएको थियो। उक्त मस्यौदा सार्वजनिक भएपछि नेपाली सेनाले प्रतिक्रिया दिँदै आफूलाई यस सम्झौताबारे कुनै जानकारी नभएको बताएको थियो।
एसपीपीको मस्यौदा बाहिरिएपछि प्रमुख प्रतिपक्षी दलका नेताहरुले सरकारको चर्को आलोचना गरेका थिए। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तर सदनमा आफू मन्त्री रहँदा त्यसबारे कुनै भएको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताएका थिए। ‘गठबन्धनका नेताहरु आज गलत ढंगले झुटो कुरा बोलिरहनुभएको छ। गठबन्धनलाई नेतृत्व गर्ने नेताहरु सरासर झुटो कुरा बोलिरहनुभएको छ। एमालेप्रति आक्षेप लगाउने काम गर्नुभएको छ। सन् २०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरु बोलिरहनुभएको छ।’
पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्यान्डल स्राइभरसँग भेटवार्ता गरेका थिए। जहाँ पोखरेलले इन्डो प्यासेफिक स्टाटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
'अमेरिकी सरकारले नेपाली सेनाको क्षमता विकास, विपद् व्यवस्थापन र संयुक्त सैन्य अभ्यासमा गरेको सहयोगप्रति पोखरेलले धन्यवाद दिनुभएको छ,' रक्षा मन्त्रालयका तत्कालीन उपसचिव मुक्तिराम अर्यालले काठमान्डू पोस्टसँग भनेका थिए, 'रक्षामन्त्री पोखरेलले अमेरिकी सेनाको इन्डो प्यासेफिक रणनीति अन्तर्त स्टेट पार्टनरसिप प्रोग्रामप्रति नेपाल सरकार सकारात्मक रहेको बताउनुभएको थियो।'