काठमाडौं– खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’को टिजर रिलिज भएको छ। हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत बिहीबार दिउँसो सार्वजनिक गरिएको हो।
टिजर रिलिजअघि आयोजित भर्चुअल पत्रकार सम्मेलनमा निर्देशक लामिछानेले फिल्म प्रदर्शनपछि ‘पानीफोटो’ निर्देशनको यात्रालाई समेटेर पुस्तक समेत सार्वजनिक गर्ने बताएका छन्। १ मिनेट ३० सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछानेसहित अनुप बराल, मेनुका प्रधान, मलिका महत अटाएका छन्।
टिजरमा मेनुका प्रधान भन्छिन्, ‘लोग्नेमान्छे र स्वास्नीमान्छे सँगै भएपछि दःख हुने रहेछ। हाम्रो बिहे नभए छोरा जन्मने थिएन। छोरा नजन्मिया भए यसरी खोज्दै हिँड्नुपर्ने थिएन।’
फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएका दम्पतीको कथा पेश गर्ने संकेत गरेको छ। खगेन्द्रकै पटकथा रहेको यो फिल्ममा यसअघि नाटक पनि मञ्चन भएको छ।
फिल्मको ट्रेलर असार २८ गते र फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।