काठमाडौं- श्रम अदालतले हालसम्म २०४ वटा मुद्दा विचारधीन रहेको जानकारी दिएको छ। अदालतले बुधबार पत्रकार सम्मेलन गरी अदालतले २०७८ साउनदेखि जेठसम्मको प्रगति विवरण सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो।
चालु आर्थिक वर्षमा श्रम अदालतमा ३९७ मुद्दा दर्ता भएको (जिम्मेवारी सरी आएकोसमेत)मा १९३ मुद्दाको टुंगो लगाएको हो। यीमध्ये २२९ वटा जिम्मेवारी सरी आएका हुन् गत महिनासम्ममा १६८ मुद्दा भने यसै आर्थिक वर्षमा दर्ता भएका नयाँ मुद्दा हुन्। जेठमा मात्र श्रमका २० वटा नयाँ मुद्दा दर्ता भएका छन्।
१५ वटा फिराद/निवेदनमार्फत आएका मुद्दा फर्स्योट हँदा श्रम कार्यालयमाथिको पुनरावेदनका ५१ मुद्दा र व्यवस्थापनउपरका ११३ ओटा मुद्दा फर्स्योट भएका हुन्।
चालु आवको फागुन र जेठमा लक्ष्यभन्दा बढी मुद्दाको फैसला श्रमले गरेको छ। २०७८ को फगुनमा २५ वटा लक्ष्य भएकोमा ३० ओटा मुद्दाको फैसला गरेको श्रमले जेठमा भने ३२ वटाको लक्ष्य निर्धारण गरेकोमा ५६ वटा मुद्दाको टुंगो लगाएको हो। जेठमा लक्ष्यभन्दा झन्डै दोब्बर अर्थात् १७५ प्रतिशत बढी प्रगति देखिएको हो।
२०७८ को साउनमा सबैभन्दा कम प्रगति देखिएको छ। साउनमा लक्ष्यको १२.५ प्रतिशत मात्र मुद्दा फैसला भएका हुन्।
चालु आवमा सञ्चारसँग सम्बन्धित १४ मुद्दा श्रम अदालत पुगेका छन्। यीमध्ये कारोबार दैनिकाका २ थान मुद्दा फिर्ता भएका छन्। रेडियो नेपालका ३ थान मुद्दा मिलापत्रमा टुंगिएका छन्। कारोबार विपक्षी भएको विजय देवकोटाको पुनर्बहालीमा टुंगिएको छ। शिलापत्र विपक्षी भएको कृष्णराज गिरीको पनि पुनर्बहालीमा गएर टुंगिएको छ। यस्तै बीबीसीवर्ल्ड सर्भिसको मुद्दामा अनुज कुँवरको मुद्दा पनि पुनर्बहालीमा गएर टुंगिएको छ। यस्तै, नेपाल ब्रोडकास्टिङ प्रालिकोविरुद्धको मुद्दामा निरज खतिवडाको पनि पुनर्बहाली भएको छ।
हिमालय टीभीविरुद्धको १ थान, कान्तिपुर पब्लिकेसनविरुद्धका २ थान, टाइम्स ब्रोडकास्टिङविरुद्धको १ थान र स्पेसटाइम नेटवर्कको एउटा मुद्दा विचाराधीन छ।
श्रममा २४ जनाको दरबन्दी भएपनि १० कर्मचारी रिक्त छन्। न्यायाधीशको सवारी साधन पुरानो भएको, भाडाको घरमा कार्यालय सञ्चालन गर्नुपरेको, पार्किङ स्थल नभएको, कार्यालयीय सामग्री र उपकरण पर्याप्त नभएको श्रमको गुनासो छ।