काठमाडौं- बलियो अर्थतन्त्रको खम्बा मानिने सेयर बजार पछिल्लो समय निरन्तर घट्दै गएको छ। बजेट आएपछि निरन्तर घट्न थालेको बजार गत साताको बुधबार एकै दिन ६० अंकले बढेको थियो।
बजार बढ्ने आशमा रहेका लगानीकर्ताको खुसीले निरन्तरता पाउन भने सकेन। भोलिपल्ट अर्थात् गत बिहीबारदेखि नै नेप्सेले पुनः ओरालो यात्रा तय गरिरहेको छ।
साताको तीन कारोबार दिनमा नेप्से फराकिलो अंकले घटेको छ। सोमबारदेखि बुधबारसम्म परिसूचक ८१.७९ अंकले घटेको हो।
बुधबार पनि नेप्से परिसूचक २९.८९ अंक घटेर १ हजार ९६६ दशमलव ३६ बिन्दुमा झरेको छ। ३ हजार २०० अंक पुगेको बजार १ हजार ९०० हाराहारी पुगेसँगै लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाएका छन्।
बुधबार कारोबारमा आएका २२९ वटा धितोपत्रको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर कारोबार भएको छ भने १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ बराबरको खरिद बिक्री भएको छ।
कारोबारमा आएका २२९ वटा धितोपत्रमध्ये आँखुखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतले बढेको छ।
सेयर धितो कर्जामा लगाएको सीमा खारेजीसहित १९ बुँदे माग राख्दै जेठ २३ गतेदेखि आन्दोलित लगानीकर्ता तिलक कोइराला आमरण अनशनमा बसेका छन्।
आँधीखोला लघुवित्तको सेयर मूल्य ४९३ दशमलव २ र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ४२० दशमलव ४० पुगेको हो।
बुधबार सबैभन्दा बढी बलेफी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ८ दशमलव ७६ प्रतिशतले घटेको छ।
यो दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक सेयर खरिद बिक्री भएको छ। कम्पनीको १२ करोड ५७ लाख बराबरको सेयर खरिद बिक्री भएको हो। कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८६५ रुपैयाँ पुगेको छ।
बुधबार कारोबारमा आएका १३ वटै समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचकमा गिरावट आएको हो।
नेप्से परिसूचकमा लगातार तीन दिनदेखि गिरावट आएपछि बजार सुधारको माग राख्दै लगानीकर्ता तिलक कोइराला बुधबारदेखि आमरण अनशन बसेका छन्।
राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको ४–१२ करोडको सीमाका कारण बजार प्रभावित बनेको लगानीकर्ताको भनाइ छ। सेयर धितो कर्जामा लगाएको सीमा खारेजीसहित १९ बुँदे माग राख्दै लगानीकर्ता जेठ २३ गतेदेखि आन्दोलित छन्।
सदन पस्यो सेयर बजार
सेयर बजारमा निरन्तर पहिरो जान थालेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा यस विषयले प्रवेश पाएको छ।
बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले धितोपत्र बजारको स्थायित्व र लगानीकर्ताको विश्वास कायम गराउन नियामक निकायको ध्यानाकर्षण गराए।
थापाले समग्र अर्थतन्त्रको परिसूचकका रूपमा रहने शेयर बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्र उन्नयनतर्फ लग्ने हुँदा हाल धितोपत्र बजारमा देखिएका समस्याबारे सदनलाई स्पष्ट पार्न माग गरे।
सामान्य अवस्थामा शेयर बजार तलमाथि हुने, तरलता अभावले बजारमा प्रभाव पर्ने नियमित प्रक्रिया भए पनि नीतिगत कारणले बजार अस्थिर हुन नहुनेमा उनले जोड दिए।
धितोपत्र बजारको नीति दिगो र अर्थतन्त्रलाई सबलीकरण गर्ने खालको बनाउन थापाले माग गरे।
उनले अहिलेको बजारमा साना लगानीकर्ता बढी मारमा परेका र लगानीकर्ताको सुरक्षाबारे सरकार र नियामक निकायले गरिरहेका कामका सम्बन्धमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।
सांसद थापाले सेयर बजारको स्थायित्व कायम गर्न, अर्थ मन्त्रालय, राष्ट्र बैंक र नियामक निकाय धितोपत्र बोर्डबाट भइरहेका प्रक्रियाबारे सदनलाई जानकारी गराइनुपर्ने बताए।
२०७८ भदौ २८ गते नेप्से परिसूचक ३ हजार १९८ को उच्चतम बिन्दुमा पुगेको थियो।