काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफूलाई कमिसन खाने मौका मिलेको भएपनि आफूले त्यसमा ध्यान नदिएको जिकिर गरेका छन्। सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यस्तो दाबी गरेका हुन्।
५-११ वर्षका बालबालिकालाई ६ अर्ब रुपैयाँको कोरोनाविरुद्धको खोप किन्नका लागि निर्णय गरेको तर आफ्नै पहलमा त्यसलाई रद्द गरी कोभ्याक्स सुविधामा ल्याएको दाबी गरेका हुन्।
आफूले गरेका काममा शंका नगर्न भन्दै उनले विभिन्न उदाहरण प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
नेपालमा कोभ्याक्स सुविधाको खोप आएकाले देशको ६ अर्ब रुपैयाँ जोगिएको उनले बताए।
मन्त्रीको जवाफ जस्ताको तस्तै
अब यो कुरा नभन्दा पनि हुने हो। ५० लाख डोज खोप भण्डार गरी डम्पिङ साइटमा राखेर किनेर कमिसनको चच्कर चलिराछ भन्ने आरोप ममाथि लगाउनुभयो। यो कुरामा शंका नगर्नुहोस्। ३ महिनाअघि ८४ लाख डोज खोप किन्ने निर्णय क्याबिनेटले गरेको थियो। तर हामीले कोभ्याक्स सुविधामा माग्यौँ। डब्लुएचओ प्रमुख ट्रेड्रोस आएका बेला अनुरोध गरेका थियौँ।
नेपालको खोप प्रगति राम्रो भएको भन्दै किन्ने निर्णय भएको ६ अर्बको खोप क्यान्सिल गरी कोभ्याक्स सुविधामा पठाएको छ। यो नै जवाफ काफी हुने हो। झ्याम्म गएर ठोक्या भए त वैधानिकै हुन्थ्यो। त्यहाँबाट आउँदो पनि रहेछ अलिकति माल। त्यो पनि पहिलोपटक चाख्न पाउँथे। स्वादै हुन्थ्यो होला। तर त्यो बाटो मैले समाइनँ। सुविधाकै खोप ल्याएका छौँ।
प्रकाशित: Jun 15, 2022| 15:35 बुधबार, असार १, २०७९