आइतबार, असोज १८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महानगरलाई कर नतिर्नेमा बहुराष्ट्रिय कम्पनीदेखि सार्वजनिक संस्थान र ठूला व्यापारीसम्म [सूचीसहित]

महानगरलाई कर नतिर्नेमा बहुराष्ट्रिय कम्पनीदेखि सार्वजनिक संस्थान र ठूला व्यापारीसम्म [सूचीसहित]

बहुराष्ट्रिय कम्पनी पेप्सीकोलाको नेपाली कम्पनी वरुण वेभरेज प्रालिले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा तथा सम्पत्ति कर तिरेको छैन।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं– बहुराष्ट्रिय कम्पनी पेप्सीकोलाको नेपाली कम्पनी वरुण वेभरेज प्रालिले काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने घरजग्गा तथा सम्पत्ति कर तिरेको छैन। आइतबार महानगरले कर नतिर्नेको सूची सार्वजनिक गरेपछि उक्त कम्पनीले कर नतिरेको खुलेको हो।  

कामनपाले सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र कर तिर्नका लागि अल्टिमेटम दिएको छ। कर नतिर्ने ५२ कम्पनी तथा व्यक्तिमा व्यवसायी अजेयराज सुमार्गीदेखि कर्मचारी सञ्चयकोष, खाद्य संस्थान साझा भण्डार लगायत सरकारी संस्थान पनि छन्। त्यसैगरी राप्रपाका नेता उद्धव पौडेलको स्वामित्वमा रहेको गोपीकृष्ण मुभिज, काठमाडौं जेसिज, राष्ट्रिय नाचघर, नेपाल विद्युत् प्राधिकरण पनि छन्।

उनीहरुले तिर्नुपर्ने घरजग्गा तथा सम्पत्ति कर तिरेका छैनन्। केही वर्षदेखि नै कर नतिरेर धेरै रकम बक्यौता रहेपछि बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको काठमाडौं महानरपालिकाका राजस्व विभाग प्रमुख शिव अधिकारीले जानकारी दिए। 

अधिकारीले भने, ’उनीहरुले ३० दिनभित्र कर तिर्न नआएको खण्डमा राजस्व ऐनको दफा १२ बमोजिम करदाताहरुको सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाइने छ।’

महानगरपालिकाका अनुसार ५२ कम्पनीलाई पटक पटक कर तिर्नका लागि पत्राचार गर्दा पनि बेवास्ता गरेकोले बाध्य भएर सार्वजनिक सूचना जारी गर्न परेको हो। महानगरको कर नतिर्नेमा रवीन्द्रबहादुर मल्ल, दिव्य शमशेर जबरा, रिद्धिसिद्धि डेभलपर्स, अलइन वान मार्टका शिशु अर्याल, सिटी सेन्टर, मैतिदेवी प्लाजा, रञ्जना ट्रेड सेन्टर लगायत छन्। 

यसैगरी महानगरले अनलाइन प्रणालीबाटै कर बुझाउन सक्ने व्यवस्था गरेको छ। यसका लागि आफ्नो वडा कार्यालयमा गएर राजस्व सफ्टवेयरमा आफ्नो विवरण बुझाइ करदाता संकेत नम्बर लिन सकिन्छ। त्यसपछि महानगरको वेबसाइटबाट आफ्नो कर बुझाउन सकिन्छ।


प्रकाशित: Aug 08, 2021| 12:06 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्