आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • क्यासिनोबाट १ अर्ब उठाएँ, २ अर्ब ८८ करोड नतिर्नेको इजाजत रद्द गरेँ : पर्यटनमन्त्री

क्यासिनोबाट १ अर्ब उठाएँ, २ अर्ब ८८ करोड नतिर्नेको इजाजत रद्द गरेँ : पर्यटनमन्त्री

आफूले २ अर्ब ८८ करोड रुपैयाँ बक्यौता नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गराएको तर अदालतले फिर्ता गराएको समेत उनले बताए।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले इजाजतपत्र नवीकरण नगर्ने क्यासिनोबाट १ अर्ब रुपैयाँ राज्यकोषमा संकलन गरेको बताएका छन्। सांसदहरूले उठाएका प्रश्नमा आफ्नो मन्त्रालयतर्फबाट जवाफ दिँदै मन्त्री आलेले यस्तो बताएका हुन्। 

आफूले २ अर्ब ८८ करोड रुपैयाँ बक्यौता नतिर्ने क्यासिनोको लाइसेन्स रद्द गराएको तर अदालतले फिर्ता गराएको समेत उनले बताए। 

'म मन्त्रालयमा आएपछि केही क्यासिनोबाट १ अर्ब रुपैयाँ उठाएको छु। २ अर्ब ८८ करोड ब्यक नतिर्ने क्यासिनोको इजाजत रद्द गरेको छु। तर अदालतले फिर्ता गरिदिएको छ। त्यस्ता क्यासिनोले देशलाई दोहन गरिरहेका छन्,' उनले भने। 

बजेटमा पर्यटन क्षेत्र विस्तारका लागि ग्रेट हिमालय ट्रेल कार्यक्रम ल्याइएको समेत उनले उल्लेख गरे। भैरहवा विमानस्थल सञ्चालनमा ल्याइएको यो आयोजना भावी पुस्ताका लागि नासो भएको उनको भनाइ छ। काठमाडौं विमानस्थललाई २४ घण्टा सञ्चालनमा ल्याइएको र बिमस्टेकका मन्त्रीस्तरीय कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको उनले उल्लेख गरे। 

मन्त्री आलेले बतास समूहसँगको सम्झौता रद्द गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति धर्मशालालाई खाली गराउने काम पनि सुरु गर्न लागिएको उनले जानकारी दिए। धर्मशाला खाली गराउन बतासलाई जेठसम्म म्याद दिइएकाले अब पनि अटेर प्रहरीको सहयोगमा धर्मशाला खाली गराउने उनले बताए। 

यस्तै विश्वसम्पदा क्षेत्रमा सूचीकृत १५ वटा सम्भावित क्षेत्रलाई बजेट विनियोजन गरिएको उनको भनाइ छ। 

प्रकाशित: Jun 15, 2022| 14:43 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्