काठमाडौं- बर्खा सुरु भयो। बर्खा सुरु भएसँगै मेलम्चीवासीको निन्द्र बिग्रिन थालेको छ। आज मेलम्चीमा बाढी आएको एक वर्ष पुग्यो। गत वर्ष असार १ गतेको बाढीले २६ जनाको ज्यान गएको थियो। धेरै भौतिक सम्पत्ति क्षति भएको थियो।
सिन्धुपाल्चोकलाई सरकारले गत वर्ष सङ्कटग्रस्त जिल्लासमेत घोषणा गरेको थियो। बस्ती संरक्षण, स्थानान्तरण र पुनः निर्माणका कुरा उठे पनि अहिलेसम्म काम भने हुन सकेको छैन। जसले गर्दा बाढीले क्षति गरेको मेलम्ची र हेलम्बुका स्थानीय त्रासमा छन्।
गत वर्ष असार १ र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो। सयौँ स्थानीयवासी विस्थापित भए। उनीहरू हालसम्म अस्थायी टहरामै बस्दै आएका छन्। उनीहरू सुरक्षित वासस्थानको पर्खाइमा छन्।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घरबारविहीनलाई पाँच लाखका दरले रकम उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त निर्णय हालसम्म पनि कार्यान्वयन नहुँदा बाढी प्रभावितको बिचल्ली भएको छ। गत वर्षको बाढीले घर खेत बगाएर बेसहारा बनेका हेलम्बु–२ गणेशेबगरका गोरी तामाङको आँखा अझै ओभाएका छैनन्।
बाढीले उनको घर बगाएर लग्यो भने भएको थोरै खेत पनि बगर बनेपछि उनको परिवार सुकुम्बासी बनेको छ। सरकारले घर बनाइदिने बताए पनि भएको जमिन बाढीले सखाप पारिदिएपछि भोकमरीमा परिन्छ कि भन्ने चिन्ता बाढीबाट प्रभावितहरूको छ।
विपद् पूर्वतयारी र विस्थापित नागरिकको स्थायी आवास पुनः निर्माणमा लागिपरेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन्। गत वर्षभन्दा केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्यालजेन शेर्पाको भनाइ छ।
हेलम्बु, मेलम्ची र पाँचपोखरीको गरी ५५१ घर बाढीले बगायो। पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको मृत्यु भयो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सातवटा झोलुङ्गे पुल, नौवटा पक्की पुल र ३३ वटा सार्वजनिक संरचना ध्वस्त भए। एक वर्षसम्म पनि अस्थायी टहरा मुनि नै गुजारा चलाइरहेका बाढी प्रभावितहरु स्थायी घर बनाउन सरकारकै बाटो हेरेर बसिरहेका छन्।
पक्की घर नबनाई रोजगारी तथा अन्य सिलसिलामा घरबाट बाहिरसमेत निस्किन नपाएको हेलम्बु गाउँपालिकाका लीलाबहादुर ज्योतिको भनाइ छ। बाढीपछि अर्काको घरमा भाडा तिरेर बसेकाहरूको पनि आफ्नै पक्की घर बनाउने सपना सरकारकै कारण अझै अधुरो छ। आफ्नो भएको घर र व्यवसाय बाढीले बगाएपछि मेलम्चीका हरिशरण श्रेष्ठलाई सुरक्षित ठाउँमा घर कहिले बन्ला भन्ने चिन्ताले सधैं सताउने गरेको छ।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनी बर्सेनि जनधनको क्षति हुने गरेको स्थानीयवासीको ठम्याइ छ।
मेलम्ची बाढीजस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएको छ। सोको पूर्वतयारी र विस्थापित नागरिकको स्थायी आवास पुनः निर्माणमा लागिपरेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन्। गत वर्षभन्दा केही तयारी गरे पनि पर्याप्त नभएको हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्यालजेन शेर्पाको भनाइ छ।
निजी आवास निर्माणको प्रक्रिया अगाडि बढे पनि केही समस्याका कारण ढिलाइ भइरहेको शेर्पाले बताए। मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पनि धेरै जना बाढी प्रभावितको सम्झौता भइसकेको र केही अहिले पनि भइरहेको भन्दै यसअघिको स्थानीय सरकारले चालेका प्रक्रियाअनुसार नै छिट्टै काम गर्ने प्रतिबद्धता जनाए।

खोलाको अतिक्रमण गरी घरलगायत अन्य संरचना निर्माण गर्ने, खेती लगाउने गरेका कारण पनि बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको जानकारहरु बताउँछन्। बाढीले खोलाको सतह झण्डै १५ देखि २५ फिटसम्म माथि बढेकाले आगामी दिनमा सामान्य बाढी पनि बजार र बस्ती क्षेत्रमा पस्न सक्ने भएकाले यसको समयमै व्यवस्थापन गर्ने र हिमाली क्षेत्रमा भएको परिवर्तनको उच्चस्तरीय अध्ययन हुनु आवश्यक रहेको बिज्ञहरुको तर्क छ।
प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित रकमले नदी नियन्त्रण तथा गहिर्याउन केही काम थाले पनि फेरि बर्खा सुरु भएसँगै आएको पानीले यी काम प्रभावित भएका छन्। मेलम्ची, इन्द्रावती, पाँचपोखरी जानका लागि ह्युमपाइप हालेर बनाइएको अस्थायी पुल पनि केही दिन अगाडि आएको बाढीले बगाएपछि अहिले यी क्षेत्रमा जानका लागि समस्या भएको छ। हेलम्बु गाउँपालिका–७ चनौटेमा भने नेपाली सेनाको सहयोगमा निर्मित बेलीब्रिजले भने केही सहज भएको छ।
मेलम्ची उपमहानगरपालिकाकी उपप्रमुख उमा प्रधान पनि स्थानीय निकै त्रसित रहेको बताउँछिन्। 'स्थानीय त्रासमा छन्। नगरपालिकाले मात्रै यतिठूलो विपत्तिका क्षेत्रमा केही गर्न सक्दैन। प्रदेश र केन्द्र सरकारले खासै ध्यान दिएको पाइँदैन,' नेपाल समयसँग कुरा गर्दै उनले भनिन्।
उनले नगरपालिकाले प्रभावित क्षेत्रमा वाल लगाउने काम गरेको भए पनि बर्खा लागेसँगै पानीको बहाव बढेकाले त्यो पनि बगाउन थालेको बताइन्। 'कतिको त बस्ने ठाउँ नै छैन। खेतियोग्य जमिन बगरमा परिणत भएको एक वर्ष भइसक्यो। जनताको गुनासो सम्बोधन गर्न सकिरहेका छैनौं। तर, पनि सकेजति काम गरिरहेका छौं,' उनले भनिन्।
हेलम्बुको शिरदेखि मेलम्चीको तल्लो बजारसम्म भएको क्षतिको सबै विवरण अझै पनि आउन सकेको छैन। १० पुरुष र पाँच महिला अहिलेसम्म बेपत्ता छन्। - राससको सहयोगमा