आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सीईओहरूसँग राष्ट्र बैंकले भन्यो- बैंकमा समस्यै-समस्या देखियो, नसच्याए कारबाही हुन्छ

सीईओहरूसँग राष्ट्र बैंकले भन्यो- बैंकमा समस्यै-समस्या देखियो, नसच्याए कारबाही हुन्छ

नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा बैंकिङ क्षेत्रमा नियामकीय अनुपालन कमजोर हुँदै गएको भन्दै कडाइ नगरिए कारबाहीको चेतावनी दिएको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले पछिल्लो समयमा बैंकिङ क्षेत्रमा नियामकीय अनुपालन कमजोर हुँदै गएको भन्दै कडाइ नगरिए कारबाहीको चेतावनी दिएको छ। मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूलाई बोलाएर राष्ट्र बैंकले पछिल्लो समयमा वाणिज्य बैंकले नियामकीय अनुपालनमा लापरबाही गरिरहेको भन्दै छलफल गरेको हो। 

राष्ट्र बैंकले बैंकिङ सिस्टममा समस्या देखिन थालेको भन्दै बैंकले आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन प्रक्रिया थप सुधार गर्नुपर्ने देखिएकोले सोहीअनुसार गर्न सचेत गराइएको हो। कार्यक्रममा बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले कर्जा दुरुपयोग बढेकोप्रति पनि सजग हुन आग्रह गरेका थिए। 

ढकालले पुरानो कर्जा तिर्नका लागि नयाँ कर्जा दिने गरिएको, अरु कुरा नहेरी स्थिर सम्पत्तिको मूल्यांकनको आधारमा मात्र ऋण दिइएको पाइएको बताउँदै यसले बैकिङ क्षेत्रमा समस्या पैदा हुन सक्ने समेत बताए। 

'ब्याजको प्रिमियम तोक्ने र परिवर्तन गर्दा राष्ट्र बैंकको प्रावधान विपरीत गर्ने गरेको, कर्जा प्रवाह गर्दा आधार ब्याजदरभन्दा पनि कममा प्रदान गरिएको, सेवा शुल्कमा राष्ट्र बैंकको नीति विपरित बैंकले काम गरेको देखिन आएको भन्दै सच्याउन आग्रह गर्नुभएको छ,' छलफलमा सहभागी एक सीईओले भने। 

बैंकहरुको सेवाशुल्क पनि २० प्रतिशतभन्दा बढी फरक हुन नहुने व्यवस्था गरेको छ। त्यसैगरी ढकालले प्रत्येक तीन–तीन महिनामा कर्जा प्रवाह गरी वर्षमा चार पटकसम्म कर्जा प्रवाह गरी सेवा शुल्क लिएको पाइएको पनि बताए। 

'त्यस्तै वाणिज्य बैंकहरुको सुपरीवेक्षण गर्दा कर्जाको वर्गीकरण नै गलत देखिएको छ,' उनले भने, ‘कर्जा वर्गीकरण गर्दा कर्जा भाका नाघेको आधारमा गर्नुपर्नेमा सो विधि अपनाइएको छैन।’ 

सो कार्यक्रमम नै बैंक सुपरीवेक्षण विभागले आयोजना गरेको थियो। कार्यक्रममा डुपटी गभर्नरद्वय निलम ढुंगाना तिमिल्सिना र बम बहादुर मिश्र पनि उपस्थित थिए। डेपुटी गभर्नर ढुंगानाले राष्ट्र बैंकले सुपरीवेक्षणका क्रममा देखिएको समस्या तत्काल सुधारका लागि निर्देशन दिइन्। 

प्रकाशित: Jun 14, 2022| 19:22 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्