काठमाडौं- नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धि समिक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय तीनकुनमा बसेको पार्टी स्थायी कमिटी बैठकमा पार्टीको केन्द्रिय सचिवालयले तयार पारेको स्थानीय तह निर्वाचनको समीक्षासम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु भएको हो।
सचिवालयको तर्फबाट प्रस्तुत सो समिक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। प्रतिवेदनमा नेताहरुले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल जारी रहेको समेत बताए। खनालका अनुसार प्रतिवेदनमा ५ दलीय तालमेल सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालिएको छ।
‘स्थानीय तह निर्वाचनको सम्बन्धमा समीक्षा बैठक हो यो। समीक्षासम्बन्धी एउटा प्रतिवेदन तयार भएको छ। यसमा सबैले आ–आफ्नो कुरा राख्नु भएको छ। छलफल हुँदैछ,' उनले भने, 'यो समीक्षाको सन्दर्भमा वास्तवमा पाँच दलको बीचमा जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो ढंगले भएन। सम्मानजनक भएन। त्यसले गर्दाखेरी आउनुपर्ने परिणाम पनि आएन। कुरा त्यो हो। तर, त्यसबाट के शिक्षा लिने भन्ने बारेमा अझै छलफल गर्दैछौं। त्यो क्रम जारी छ।’
बैठक भोली (बुधबार) पनि जारी रहने र निर्वाचनको समिक्षाबारे पार्टीको ठोस धारणा सार्वजनिक हुने नेकपा (एकीकत समाजवादी)ले जनाएको छ।