सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी आरोपबारे अर्थमन्त्रीले दिए यस्तो प्रष्टीकरण

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतासम्बन्धी आरोपबारे अर्थमन्त्रीले दिए यस्तो प्रष्टीकरण

अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटो र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।

National life

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजीनामा माग गरिरहेको बेला अर्थमन्त्री शर्माले यस्तो प्रष्टीकरण दिएका हसन्। उनले मंगलबार प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोल्दै बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरुले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र सोही अनुसार काम गरिएको बताए।

अर्थमन्त्री शर्माले कार्यसम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र सोही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटकपटक दोहोर्याए। सरोकारवालाहरुको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरुकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो। उनले भने,  ‘बजेट तुर्जमासम्बन्धी विषयलाई लिएर केही मिडियाहरुमा आएको समाचारको बारेमा माननीयज्यूहरुले उठाउनु भएको प्रश्नको बारेमा म स्पष्ट गर्न उभिएको छु। नेपाल सरकार कार्यसम्पादन नियमावली, २०७४ अनुसार तोकिएको जिम्मेवारीभित्र रहेर कार्यसम्पादन हुने कुरा म स्पष्ट गर्न चाहन्छु। बजेट तथा आर्थिक विधेयक तर्जुका सम्बन्धमा स्पष्ट रुपमा परिभाषित गरिएका प्रक्रियाहरु छन्।

ती प्रक्रियाहरु अन्तर्गत रहेर मुख्यतः अर्थसचिव र राजस्व सचिव दुई वटा सचिव रहेको व्यवस्था छ अर्थ मन्त्रालयमा। उहाँहरुको मातहतमा रहनुभएका अन्य विभागीय प्रमुखहरु र कर्मचारीहरुको तहमा विभिन्न स्तरमा छलफल भएर र विभिन्न सरोकारवालाहरुबाट आएका सुझावहरुलाई समेत ध्यान दिएर प्रस्तावहरु बन्ने गर्दछ। यो कुरा म यहाँ जानकारी गराउन चाहन्छु। र, त्यसलाई आवश्यक तयारी गरेर निष्कर्षमा ल्याउने र अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रुपमा निर्देशन दिने त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरी नै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु।

अब छलफल हुँदा प्राप्त भएका सुझावहरुलाई बढीभन्दा बढी समेट्ने कुरामा ध्यान दिने र सम्बन्धित मन्त्रालयहरुले तय गरेर पठाएका कार्यक्रम र योजनाहरु अर्थ मन्त्रालयका बजेटसँग सम्बन्धित पदाधिकारीहरुबीचको दुई पक्षीय छलफलको आधारमा त्यसलाई टुंग्याउने परम्परा रहेछ। सोही अनुसार नै अहिलेको बजेट पनि बनेको कुरा म स्पष्ट गर्न चाहन्छु। यहाँ अहिले एउटा जुन विषय उठेको छ कि बजेट निर्माण गर्दा राजस्वको दरहरु गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्यो भन्ने सन्दर्भमा जुन विषय उठेको छ, त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ। यसको म खण्डन गर्न चाहन्छु। खारेज गर्न चाहन्छु।’

Shivam cement

अर्थमन्त्री शर्माले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालन सम्बन्धि अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताए।

प्रकाशित: Jun 14, 2022| 17:47 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्