काठमाडौं- लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट ३ ग्राम ७ सय मिलिग्राम लागूऔषध ब्राउनसुगरसहित प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापा दमक उपमहानगरपालिका-९ घर भएका २७ वर्षीय संजय लिम्बु रहेका छन्। लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख १९२७ नम्बरको बसमा सवार उनलाई जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो।
पक्राउ परेका लिम्बुमाथि जिल्ला अदालत काठमाडौंले पाँच दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ।
यस्तै कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ राधाकृष्ण मन्दिर नजिकबाट १० ग्राम ३ सय ८० मिलिग्राम लागूऔषध खैरो हेरोइन र ५ हजार भारतीय रुपैयाँसहित भारत घर भएका २६ वर्षीय जसबिन्दर सिहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो।
दाङ, घोराही उपमहानगरपालिका-१८ फुर्सेखाली बस्ने २४ वर्षीय आकाश रोका मगरलाई ५ सय मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। उनले सोही ठाउँस्थित गिठेपानीमा लागूऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यलय घोराहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
चितवन, रत्ननगर नगरपालिका-२ टाडी चोकबाट नियन्त्रित लागूऔषध १ सय ३७ एम्पुल नोफिम, १ सय ३८ एम्पुल डाइजेपाम र १ सय ३८ एम्पुल फेनारगन सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कालिका नगरपालिका-६ बस्ने २९ वर्षीया वन्दना रुम्बा र उनकै श्रीमान् ३७ वर्षीय नेमराज रुम्बा रहेका छन्।
अस्पताल रोडबाट टाडी चोकतर्फ जाँदै गरेको ना६१प ६७२६ नम्बरको मोटरसाइकलाई इलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा वन्दनाको झोलाबाट उक्त लागूऔषध बरामद गरेको हो। घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।