बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास : विद्यार्थी उत्साहित

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास : विद्यार्थी उत्साहित

मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले चार ओटा सदनअन्तर्गत नेतृत्वका लागि विद्यार्थीहरूलाई सहभागी गराएर निर्वाचनको अभ्यास सम्पन्न गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं- मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले चार ओटा सदनअन्तर्गत नेतृत्वका लागि विद्यार्थीहरूलाई सहभागी गराएर निर्वाचनको अभ्यास सम्पन्न गरेको छ। सदनको नेतृत्वका लागि विद्यार्थीहरू सदन निर्वाचनको प्रक्रियामा सहभागी भएका हुन्।

National life

मुलुकमा भरखरै सम्पन्न भएको स्थानीय निर्वाचनको चर्चा राष्ट्रियरूपमा चलिरहेकै सन्दर्भमा विद्यार्थीहरू उमेदवार र मतदाता हुन पाउँदा उत्साहित देखिएका थिए। कक्षा ७ देखि १० सम्म अध्ययनरत् सम्पूर्ण विद्यार्थीहरू उक्त निर्वाचनमा सहभागी भएका थिए।

निर्वाचन जेठ २७ गते शुक्रबारका दिन बिहान ११ बजेबाट सुरु भएर २:३० बजे सम्पन्न भएको थियो। यस कार्यका लागि विद्यालयले निर्वाचन आयोगसमेत गठन गरेको थियो। विद्यालयका अतिरिक्त क्रियाकलाप विभागका विभागीय प्रमुख सन्तोष चापागाईँको आयुक्ततामा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूले लामबद्ध भएर उत्सुकताका साथ मतदान कार्यमा भाग लिएका थिए। विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले प्रतिनिधि उम्मेदवार विद्यार्थीलाई मतपत्र हस्तान्तरण गरेपछि मतदान आरम्भ भएको थियो। विद्यालयका शिक्षक योगेन्द्र पौडेलले विद्यार्थी, शिक्षक एवं प्रशासनिक शाखाका व्यक्तित्वहरूसँग मतदानको उत्साह, प्रक्रिया र अनुभवसँग सम्बन्धित सङ्क्षिप्त प्रतिक्रियासमेत लिएका थिए।

सामाजिक शिक्षाको प्रयोगात्मक अभ्यास कार्यमा सहभागी हुन पाउँदा र निर्वाचनसम्बन्धी व्यावहारिक ज्ञान प्राप्त गर्दा नौलो अनुभव र उत्साहप्रद अनुभूति सँगाल्न पाएको कुरा कक्षा सातका विद्यार्थी दिप्सन खनालले बताए। विद्यालयका प्राचार्य भण्डारीले निर्वाचनको यस आयोजनाले विद्यार्थीमा प्रयोगात्मक ज्ञान र सिप अभिवृद्धि हुनुका साथै बालविकास र नेतृत्व विकासमा सहयोग पुर्‍याउने धारणा राख्दै शुभकामना प्रदान गरेका थिए ।

Shivam cement

यस निर्वाचनबाट सदनका कप्तान, छात्र उपकप्तान र छात्रा उपकप्तानका लागि एक एकजना विद्यार्थी चयन गरिएको थियो। राष्ट्रिय निर्वाचनको विधि र प्रक्रियालाई आत्मसात् गर्दै नामावली प्रकाशन, उमेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतदान, मतगणना, नतिजा घोषणा र सपथ ग्रहणका कार्यक्रमहरू पनि क्रमशः सम्पन्न गरिएको विद्यालय संयोजक कृष्णप्रसाद मैनालीले बताए।

विद्यालयको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख तथा सदस्यद्वय इची महर्जन र अजित महर्जनको सहभागितामा निर्वाचन सहजीकरण एवं सचेतना अभियान सञ्चालन भएको थियो। हेलेन, नाइटिङ्गेल, पारिजात र टेरेसा गरी जम्मा ४ ओटा सदनबाट ३:३ जना गरी १२ जना विद्यार्थीले १ वर्ष अवधिका लागि आ–आफ्नो सदनको नेतृत्व गर्ने प्रावधान रहेको जानकारी विद्यालयका प्रमुख प्रशासक निरज साउदले दिए। भ्याली भ्यु स्कुलले यस किसिमको निर्वाचनको अभ्यास हरेक वर्ष आफ्ना विद्यार्थीलाई गराउँदै आएको छ।

प्रकाशित: Jun 14, 2022| 07:53 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।