काठमाडौं- यही असार ५ गते विश्व बैंकका दुई उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन्। विश्वका बैंकको विकास नीति तथा साझेदारी हेर्ने प्रबन्ध निर्देशक मारी पङ्गेस्तु र बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष हार्टविग सेफरले नेपाल भ्रमण गर्ने भएका हुन्।
उनले गत वर्ष असोजमा पनि नेपाल भ्रमण गरेका थिए। गत वर्ष असोज पहिलो साता नेपाल भ्रमणमा आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेटवार्ता गरेका थिए।
अर्थ र परराष्ट्र मन्त्रालयले विश्व बैंकका उच्च अधिकारीको भ्रमणको क्रममा हुने छलफलका सम्भावित एजेन्डाबारे तयारी गरिरहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
ती अधिकारीका अनुसार विश्व बैंकका ती प्रतिनिधिले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाल लगायतसँग भेटवार्ता गर्नेछन्। उनीहरु विश्व बैंकद्वारा काठमाडौं बाहिर सञ्चालित परियोजनाको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ।
डेढ साताअघि मात्रै विश्व बैंक सञ्चालक समितिले नेपालका लागि ८ करोड अमेरिकी डलर बराबरको ऋण सहायता अनुमोदन गरेको थियो। उक्त रकम कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा खानेपानी तथा सरसफाइमा सुधार ल्याउन तथा एकीकृत पानीको स्रोत व्यवस्थापनमा खर्च गर्ने लक्ष्य राखिएको विश्व बैंकले जनाएको छ।