काठमाडौं– अर्थमन्त्री जनार्दन शर्मा बजेट विवादमा मुछिएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेको छ।
बजेट निर्माणको अन्तिम चरणमा एक पूर्वकर्मचारीलाई संलग्न गराएर करका दर हेरफेर गरेको समाचार अन्नपूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेपछि मन्त्रालयले साँझ त्यसको खण्डन गरेको हो।
मन्त्रालयले प्रेषित गरेको विज्ञप्तिमा प्रवक्ताको रुपमा सहसचिव भुपाल बरालको हस्ताक्षर छ। तर अर्थ मन्त्रालयको वेबसाइटमा भने प्रवक्ता ढुण्डीराज निरौला छन्।
बराल राजस्व व्यवस्थापन महाशाखाका प्रमुख हुन्। राजस्वका दर परिवर्तन हुँदा महाशाखा प्रमुख अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था छ। निरौला भने योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख हुन्।