काठमाडौं– अर्थ मन्त्रालयले बजेट निर्माणसम्बन्धी विवादको खण्डन गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै आज प्रकाशित समाचारको खण्डन गरेको हो।
चैत १ देखि नै औपचारिक रुपमा बजेट तथा कार्यक्रमका विषयमा क्षेत्रगत छलफल, विज्ञहरु तथा अन्य सरोकारवाला निकायसँग परामर्श–अन्तरक्रिया प्रारम्भ गरिएको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा बजेट मस्यौदा समिति गठन भएको र सर्वसाधारणको प्रतिक्रिया, सुझावहरु मन्त्रालयको निःशुल्क टोल फ्रि नम्बर ११३८ बाट संकलन गरिएको मन्त्रालयको भनाइ छ। राजस्व संकलन गर्ने करको दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्वन्धी प्रचचित कानुनलाई संशोधन गर्ने सम्वन्धमा अधिकारको परिधिभित्र रहेर गरिएको विज्ञप्तिमा उल्लेख छ।
सोमबारको अंकमा अन्नपूर्ण पोस्ट् दैनिकले ‘मध्यराति जब बजेटमा चुकुल लाग्यो’ शीर्षकको समाचार प्रकाशित भएपछि अर्थमन्त्रीको आलोचना भइरहेको छ।
यो विषयले आज संसद्मा समेत प्रवेश पायो। प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सभामुखसँग समय मागेर बोल्दै बजेट निर्माण प्रकियामा अनाधिकृत व्यक्तिको भूमिकाबारे गम्भीर आपत्ति जनाए। सांसद भट्टराईले आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणमा अर्थमन्त्री जनार्दन शर्माले अमूक व्यक्तिलाई सहभागी गराएको भन्दै आपत्ति जनाएका हुन्।
उनले अर्थमन्त्री शर्माको राजीनामासमेत माग गरे। भट्टराईले भने, ‘अर्थमन्त्रीज्यू विवादमा आइसक्नु भयो, तत्काल राजीनामा दिनुहोस्।’ सांसद भट्टराईले बजेटमा भन्सार र राजश्वका दरहरु कसरी परिवर्तन गरिए भन्ने विषय समाचार पढेर थाहा पाएको बताए। जबरजस्ती अर्थमन्त्रीको निर्देशनमा मध्य रातमा राजश्व र भन्सारका दरहरु तलमाथि गर्न खोजिए भन्दै उनले आश्चर्य व्यक्त गरे।