सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्थमन्त्री शर्माको पद धरापमा, प्रचण्डले भने– राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्

अर्थमन्त्री शर्माको पद धरापमा, प्रचण्डले भने– राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्

पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई राजस्वको दर हेरफेरका लागि जिम्मा दिएको समाचार बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएको बताइएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माको पद धरापमा परेको छ। आगामी आर्थिक वर्षको बजेट बनाउने क्रममा एकजना पूर्वकर्मचारीको संलग्नताबारे समाचार सार्वजनिक भएपछि उनीमाथि नैतिक दबाब परेको हो। 

National life

पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई राजस्वको दर हेरफेरका लागि जिम्मा दिएको समाचार बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएको बताइएको छ।

अर्थमन्त्री शर्माबारे समाचार आउँदैछ भन्ने जानकारी पाएपछि प्रचण्डले आइतबार साँझ नै उनलाई निवासमा बोलाएको प्रचण्डको सचिवालयका एक सदस्यले जानकारी दिए। ‘अध्यक्षज्यू सोमबार बिहानै बर्दिया जाने कार्यक्रम रहेकोले आइतबार साँझ नै अर्थमन्त्रीलाई बोलाउनु भएको थियो। भेटघाट भएको हो, तर के विषयमा कुराकानी भयो भन्नेबारे पूर्ण रुपमा जानकारी भने भएन,’ ती सदस्यले नेपाल समयसँग भने। 

माओवादी केन्द्रमा जनार्दनका प्रतिस्पर्धी मानिने नेता वर्षमान पुनले पहिलेदेखि नै अर्थमन्त्री फेर्न अध्यक्ष प्रचण्डलाई दबाब दिँदै आएको बताइन्छ। पुन पनि पूर्व अर्थमन्त्री हुन्। बजेटमा राजस्वको दर हेरफेरमा पूर्वकर्मचारीलाई संलग्न गराएको विषयले अर्थमन्त्रीको बहिर्गमनका लागि बल पुग्ने देखिएको छ। प्रचण्डले आइतबार बेलुका अर्थमन्त्री शर्मालाई बोलाएर विवादमा नफसी राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएको स्रोत बताउँछ।

बजेट निर्माणका क्रममा अर्थमन्त्री शर्माले पूर्व अर्थमन्त्रीको हैसियत आफूलाई नदिएको गुनासो पुनले पार्टीभित्र गर्ने गरेका थिए। शर्माप्रति असन्तुष्ट उद्योगी–व्यवसायीहरुले पनि पुनलाई अर्थमन्त्री शर्माविरुद्ध कुरा लगाउने गरेको बताइन्छ। पुनले सार्वजनिक रुपमा पनि अर्थमन्त्री शर्माको आलोचना गर्ने गरेका थिए।

Shivam cement

त्यसो त नेपाली कांग्रेसका नेताहरुले बजेट सार्वजनिक हुनुपुर्व नै अर्थमन्त्री शर्मालाई हटाउन लबिङ गरेका थिए। तर अर्थमन्त्री शर्मा प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु देउवा निकट भएकोले यो प्रयास सफल हुन नसकेको हो। नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका विनोद चौधरी अर्थमन्त्रीका दावेदार थिए। अर्कोतर्फ नेपाली कांग्रेसको एउटा समूहले डा. स्वर्णीम वाग्लेलाई अर्थमन्त्री बनाउनका लागि देउवालाई सुझाव दिइरहेको थियो। देउवाले दुवै प्रस्ताव अस्वीकार गरेपछि शर्माको पद जोगिएको थियो।

मध्यरातमा अर्थ मन्त्रालय छिर्ने पूर्वसुब्बाबारे यस्तो समाचार जसले सदनमा स्थान पायो

अर्थ मन्त्रालय सम्हालेदेखि नै शर्मा विवादमा तानिएका हुन्। उनले अर्थतन्त्रका विषयमा दख्खल राख्ने कर्मचारीको सरुवा गरी आफू निकट कर्मचारीलाई अर्थ मन्त्रालयमा ल्याएका थिए। आफ्ना भान्जे ज्वाइँ भीमकान्त न्यौपानेलाई एसियाली विकास बैंक (एडीबी) को सल्लाहकारमा नियुक्त गरेका कारण पनि उनी आलोचित बनेका थिए। उक्त पदमा मुख्यसचिव, सचिव वा सहसचिव जाने परम्परा थियो। न्यौपाने शाखा अधिकृत हुन्। 

अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको प्रतिस्थापन बजेटमा लगाएको कर नीतिले नेपालमा फस्टाइरहेका स्टील उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगी–व्यवसायीहरुले गुनासो गरिरहेका छन्। उनले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सारदर शून्यमा झारेका थिए भने बिलेटको अन्तःशुल्क घटाएका थिए, जसले नेपालका स्टील उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्। शर्माले आगामी बजेटमार्फत उनीहरुका समस्या सम्बोधन गर्ने बताए पनि अहिलेसम्म स्टील उद्योगको समस्या समाधान भएको छैन।

नेपालका ठूला व्यापारिक घरानाको पक्षपोषण गरेको आरोप पनि अर्थमन्त्रीमाथि लागेको छ। स्वदेशी उद्योग बचाउने नाममा चौधरी, शंकर र मुरारका ग्रुपलाई फाइदा पुग्नेगरी राजस्वका दर हेरफेर गरेको र यसका कारण अरु उद्योग रुग्ण अवस्थामा पुग्ने अवस्था रहेको भन्दै उद्योगी–व्यवसायी आन्दोलित बनेका छन्।

विवादको शृंखलामा थपिएको पछिल्लो प्रकरणले अर्थमन्त्री थप दबाबमा परेका छन्। उनीमाथि सोमबार संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गम्भीर प्रश्न उठाएको छ। एमालेले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्‌मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ। 

प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका हुन्। 

‘विगतका बैठकहरूमा नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा राजस्वका दर, भन्सार र करमा भएका कतिपय प्रावधानमा टिप्पणी गर्दै आएका छौं। आजका सञ्चारमाध्यमहरूले उक्त विषयलाई गम्भीरताका साथ उठाएका छन्। म सभामुखमार्फत त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

सांसदहरूले विद्युतीय सवारीसाधनमा किन अन्तःशुल्क लगाइयो, किन भन्सार महसुल बढाइयो, स्वास्थ्य बिमा किन प्राइभेट कम्पनीलाई दिइँदैछ, जुत्ता र स्यानिटरी प्याडमा कर किन लगाइयो भनेर प्रश्न उठाएको तर सरकारले जवाफ नदिएको भट्टराईको भनाइ थियो।

उनले भने, ‘कुनै अमूक व्यक्तिलाई अर्थमन्त्रीले अर्थ मन्त्रालयमा बोलाउनुभयो। कार्यकक्षमा भएका अर्थ मन्त्रालयका सचिव, राजस्वका सचिव, बजेट शाखा प्रमुखलगायतलाई उहाँले ती व्यक्तिको भनाइ नै आफ्नो भएको भन्नुभयो। मध्यरातमा अर्कै व्यक्तिको माध्यमबाट कर, भन्सार र राजस्वका दरमाथि तलमाथि गर्न खोजेर के गर्न खोजिएको हो।

पदमा रहँदा वा नरहँदा राज्यका कुनै पनि गोपनियता भंग गरिँदैन भन्ने शपथ खाएका हुन्छौं। बजेट निर्माणको एक प्रक्रिया छ। बजेट निर्माणको १ महिना अगाडिदेखि बजेट शाखामा र अर्थ मन्त्रालयमा कुनै पनि मानिसलाई प्रवेश दिइँदैन तर यो राष्ट्रका नाममा खाएको शपथको खिलाफ हो। यो राष्ट्रघात पनि हो। त्यसरी बजेटमा गरिएको हेरफेरले स्वदेशी उद्योग धराशायी भएका छन्।’

सञ्चारमाध्यममा आएका ती विषयमा अर्थमन्त्री शर्माले जवाफ दिनुपर्ने भट्टराईको माग छ। उनले भने, ‘अर्थमन्त्रीले यसको स्पष्टीकरण दिनुपर्छ भन्ने माग गर्दछु। यसमा प्रधानमन्त्रीको र सत्तारुढ दलका भनाइ के छरु यसबारे सदनको पनि ध्यानाकर्षण होस्।’

प्रकाशित: Jun 13, 2022| 15:21 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्