काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख टन मल तत्काल चाहिने बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मल संकटबारेको छलफलमा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भनेर प्रश्न गरे।
उनले भने, ‘सबैभन्दा ठूलो चुनौती ४ लाख टन मल अहिले चाहिएको छ। माननीय कृषिमन्त्रीले भारतसँग डेढ लाख टनजति मल जीटुजीमार्फत ल्याउन खोज्नुभयो भन्ने सुनियो तर भारतले भन्यो– ६५ हजार टनभन्दा बढी दिन सक्दैनौं। त्यो पनि कहिले ल्याउने हो थाहा छैन। असोजमा हो कि बाटैतिर छ कि? हाम्रो मुख्य चासो कहिले, कति मल आउँछ? हामीलाई चाहिने चार लाख टन धान बालीको लागि मल कहिले ल्याउनुहुन्छ? त्यो मल आजै चाहियो, अहिल्यै चाहियो।;
किसानले तत्काल मल खोजिरहेकाले सरकारले त्यसको व्यवस्था गर्नुपर्ने उनको माग थियो।