झापा- अज्ञात रोगका कारण खोरमै बंगुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन्। एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बंगुर मरिसकेका छन्।
स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गल चोकमा बंगुर पाल्नु सुरु गरेका थिए। फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बंगुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन्। उनले भने, 'बाँकी बंगुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ।'
ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बंगुरपालन गरेका राईको खोरमै दैनिक छ देखि सात सम्म १३० केजीसम्मका मर्न थालेपछि उनलाई बाँकी रहेका बंगुर जोगाउन मुस्किल परिरहेको छ।
'हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बंगुर भटाभट मरे', उनले भने, 'पाठापाठीको त हिसाबै राखेका छैनन्। मरेकामध्ये पाँच ठूला बंगुरको मात्र इन्स्योरेन्स गरेको थिएँ।' बंगुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्ने जस्ता लक्षण देखिएको उनको भनाइ छ। हालसम्म मेचीनगर नगरपालिकाको पशु सेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ।
विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए। -रासस