सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • २२ वर्षमा आईएमई : फ्याक्स मेसिनबाट सुरु गरेर ४० हजारलाई रोजगारी

२२ वर्षमा आईएमई : फ्याक्स मेसिनबाट सुरु गरेर ४० हजारलाई रोजगारी

'यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ।'
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- 'एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक करिब एक खर्ब रुपैयाँभन्दा बढीको विप्रेषण भित्र्याउँछ' भन्दा सामान्य मानिसले पत्याउँदैन। आइएमई लिमिटेडले पछिल्ला दिनमा वार्षिकरुपमा रु एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्‍याएको छ। 

National life

देशभित्र भित्रिएको विप्रेषण अनुत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको र त्यसले आर्थिक विकासमा ध्यान दिन नसकेको टिप्पणी भइरहेका बेला आइएमई लिमिटेडका अध्यक्षसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भने, 'यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, रोजगारीको विकास र विस्तारका लागि प्रयोग गर्नुपर्छ।' अध्यक्ष ढकालले आफ्नो कम्पनीले प्रत्यक्ष रुपमा ४० हजारलाई रोजगारी दिएकोसमेत जानकारी दिए। 

आफूहरुले संस्था सुरु गर्ने बेला विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले गरेको नीतिगत प्रावधानले सहज भएको उहाँले जानकारी दिए। अनौपचारिकरुपमा भित्रिँदै आएको विप्रेषण सुरुआती चरणमा आफूहरुकै पहलमार्फत औपचारिकरुपमा आउन थालेको तथ्य पेश गर्दै उनले सरकारले लिने सही नीतिले मुलुकको समृद्धि तथा आर्थिक विकासमा महत्वपूर्ण प्रभाव पर्ने उल्लेख गरे। 

आइएमई लिमिटेडको २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले आर्थिक विकासका लागि सरकारसँग मिलेर आफूहरु काम गरिरहेको बताए। वार्षिक १ खर्बभन्दा बढी रकम आईएमईले भित्र्याउँदै आएको छ। 

वैधानिक माध्यमबाट विप्रेषण भित्र्याउन यस्ता संस्था सबल बन्नुपर्छ : अर्थमन्त्री 

Shivam cement

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट कार्यान्वयनमा प्रश्न उठेको भन्दै हरेक क्षेत्रले आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए। आर्थिक अस्थिरताबाट स्थिरतातर्फ लाने र मुलुक तथा नागरिकको आवश्यकताका आधारमा बजेट निमार्ण भएकाले यसको कार्यान्वयमा सबैले एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरे। 

अझै पनि विदेशबाट अनौपचारिक माध्यमबाट पैसा आइरहेको अवस्थामा त्यसको रोकथाममा यस्ता संस्थाले आफ्ना सेवा विस्तारका साथै प्रविधिको उच्चतम् प्रयोग गरी औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन पहल गर्नुपर्नेमा मन्त्री शर्माको भनाइ छ। 

अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए। 'विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ, यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ,' उनले भने, 'विदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन्।'

विप्रेषणको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए। आर्थिक वर्ष ०७९/८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उनले जानकारी दिए। 

'बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन, अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेषरुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ,' उनले भने, 'यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो।'

श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आबको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको उनले बताए। उनले मुलुकको अर्थतन्त्रमा हाल देखिएको तरलता व्यवस्थापनको समस्या समाधान गर्न आगामी मौद्रिक नीतिले नीतिगत सम्बोधन गर्ने विश्वास व्यक्त गरे। 

कार्यक्रममा मुख्य सचिव शङ्करदास बैरागीले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन आइएमई जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको जनाउँदै यसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको बताए। 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताए। उनले गास, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकामा आउँदा दिनमा पूँजी निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिए। 

000

नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सुरुमा सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिट्यान्सको माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ। अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले पहिचान बनाएको छ।

तत्कालीन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्‍ याउनका लागि औपचारिक माध्यमको अभाव थियो। औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य जोखिमयुक्त र चुनौतीपूर्ण थियो। त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ।

आइएमई रेमिटेन्स सेवाको पर्यायवाची 'आइएमई गरौं' भन्ने भनाइसहित आम नेपालीको जिब्रोमा झुण्डिएको छ। आम नागरिकको जीवनशैलीको अभिन्न अंगको रुपमा आज आइएमई स्थापित भएको छ । यो अवधिमा बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनका क्षेत्र सेवा विस्तार गरेको छ। 

राज्यलाई सबैभन्दा बढी करमा योगदान गरेबापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सीआइपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ/संस्थाबाट सम्मानित भइसकेको छ। प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डको रूपमा हेर्दै आएका छन्। 

यही ग्रुपले विस्तार गरेको 'आइएमई पे' मोबाइल वालेटमा हाल ३० लाख प्रयोगकर्ता छन्। हाल २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब ३५ हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत्  यसले विप्रेषण सेवा पद्रान गर्दै आएको छ। 

प्रकाशित: Jun 12, 2022| 23:50 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्